ग्यास नदिने सरकारबिरुद्ध उपभोक्ताको नाराबाजी

280
  •  
  •  
  •  

काठमडौं, १३ माघ (ओएनएस) : बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि सहज रुपमा वितरण गर्ने आपूर्ति मन्त्रालयको प्रयास दुई दिनमै असफल भएको ।

आपूर्ति मन्त्री सुनील थापाको पहलमा नेसनल ट्रेडिङ लिमिटेडले ग्यास आपूर्ति सहज बनाउन आइतवारबाट ग्यास बिक्री थालेको थियो । ग्यासको चरम अभाव भोगेका उपभोक्ताहरु ट्रेडिङको कार्यालय टेकूमा ओइरिएपनि ट्रेडिङल सोमबार राति ९ बजे सूचना टाँसेर ग्यास बिक्रि बन्द गर्ने जनाएको हो ।

तीन दिनको लागि ग्यास वितरण गर्ने भनिएपनि दोस्रो दिनमै बन्द गर्ने सूचना आएपछि उपभोक्ता आक्रोसित बनेका छन् । ग्यास बिक्रि बन्द गरेपछि उपभोक्ताले टेकुमा चर्काे नाराबाजी गरेका छन् ।

सुरक्षाकर्मीले माइकिङ गरी नेसनल ट्रेडिङबाट ग्यास बिक्री बन्द भएको र नजिकैको ग्यास डिपोमा सम्पर्क गर्न सुचित गरे पनि उनीहरूले नाराबाजी गरेका हुन् । ग्यास बिक्री बन्द गरेकाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट मंगलबार बिहानै रित्तो ग्यास सिलिन्डर बोकेर टेकु पुगेका उपभोक्ता रित्तोहात फर्कन बाध्य भएका थिए ।

बजारमा खाना पकाउने ग्यास अभाव भएपछि नेसनल ट्रेडिङ लिमिटेडले आइतवार बिहानदेखि काठमाडौंको टेकु कार्यालयबाट ग्यास बिक्री थालेका थिए । नेपाल आयल निगमका अनुसार एक सातादेखि दैनिक हजार टन ग्यास आयात भइरहे पनि बजारको दैनिक माग ८ सय टनमात्रै हो ।

निगमको तथ्यांकअनुसार मागभन्दा दैनिक २ सय टन ग्यास बढी आयात हुने गरेको छ । एक टनमा ७० सिलिन्डर हुन्छ, जसअनुसार मागभन्दा बजारमा १४ हजार बढी सिलिन्डर दैनिक आपूर्ति भइरहेको छ ।

ग्यास आपूर्ति सहज बनाउन आपूर्ति बढाएको निगम प्रवक्ता मुुकुन्द घिमिरेले बजार मागभन्दा २ सय टन बढी ग्यास आयात भइरहेको जानकारी दिए । निगमले बजार मागभन्दा बढी वितरण गरेको जनाए पनि कृत्रिम अभावका कारण सर्वसाधारण उपभोक्ताले सहज रूपमा ग्यास पाएका छैनन् ।

काठमाडौं उपत्यकामा मात्रै करिब ४० प्रतिशत उपभोक्ताले ग्यास पाउन नसक्नेगरी अभाव सिर्जना गरिएको छ ।

सोमबार मन्त्रिपरिषद्ले नेपाल आयल निगमको कार्यकारी प्रमुखमा गोपालबहादुर खड्कालाई नियुक्त गरिएको थियो । कार्यकारी प्रमुख चण्डिकाप्रसाद भट्टलाई हटाएर खड्कालाई नियुक्त गरिएको हो ।


  •  
  •  
  •