ग्याँसमा कालोबजारी गर्नेलाई कारबाही नभएकामा सभासद क्रुद्ध

404
  •  
  •  
  •  

gas shortageकाठमाडौँ, १७ पुस : खाना पकाउने ग्याँसको कृत्रिम अभाव सिर्जना गर्ने ग्याँस उद्योगी तथा व्यापारीमाथि सरकारले कारबाही नगरेको भन्दै सभासदहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

व्यवस्थापिका संसदअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आजको बैठकमा सभासदहरूले दैनिक उपभोग्य वस्तुको कालोबजारी गरी व्यापारीहरूले उपभोक्तामाथि अन्याय गरेको भन्दै यसमा सरकार जिम्मेवार नभएको आरोप लगाएका हुन् ।

समितिका सभापति भीष्मराज आङ्देम्बेले समितिले दिएका निर्देशनहरू कार्यान्वयन गर्न सरकार गम्बिर नभएकोप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले भने, “ग्यासको कृत्रिम अभाव, तेल चोरी तथा हवाई इन्धनको घोटालाका विषयमा संसदीय समितिले दिएका निर्देशन कार्यान्वयन नहुनु गम्भीर हो, यसले समितिप्रति जनतामा वितृष्णा फैलाउँछ ।”

सभासद् सुवासचन्द्र शाही ठकुरीले व्यवसायी तथा उद्योगीको आपसी मिलेमतोमा आम उपभोक्तामाथि अन्याय भएको बताउँदै यसमा सरकार जिम्मेवार हुनुपर्ने बताए ।

सभासद् भक्तिप्रसाद पाण्डेले जनताप्रति सरकार जवाफदेही नभएको भन्दै यसको नकारात्मक प्रभावका बारेमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

सभासद् राज्यलक्ष्मी श्रेष्ठले आफू २० दिनदेखि ग्यासको लाइनमा बस्दा पनि नपाएको भन्दै सरकारले कालोबजी गर्नेलाई संरक्षण गरेको आरोप लगाइन् ।

सभासद् शान्ता मानवीले भन्नुभयो, “मेरो घरमा सुत्केरी छिन्, ग्याँस छैन, डिलरमा गयो, छैन भन्छन्, यस्तो पीडादायी अवस्था भोग्नुपरेको छ ।” सरकारले यस विषयमा चासो नदेखाएको बताइन् ।


  •  
  •  
  •