दशै नजिकिदै गर्दा बजारमा ग्यासको कृत्रिम अभाव

170
  •  
  •  
  •  

रक्षा रेग्मी
काठमाडौं १७ भदौ (ओएनएस) : दशैं नजिकिदै गर्दा बजारमा ग्यास अभाव हुन थालेको छ । उद्योगीहरुले ग्यास लुकाएर कृत्रिम अभाव गराएको ग्यास विक्रेताहरु बताउँछन् । विगत १५ दिनदेखि बजारमा ग्यास अभाव हुन थालेको ग्यास विक्रेता संघका अध्यक्ष चन्द्र बहादुर बस्नेतले बताए । ‘अहिले बजारमा उद्योगबाट आधामात्र ग्यास आएको छ ’ उनले भने ।

नयाँ सिलिन्डर बेच्न तथा दशैंमा ग्यासको भाउ बढाउन उद्योगीहरुले कृतिम अभाव गराएको उनको आरोप छ । हाल नेपालमा दैनिक २२ हजार मेट्रिक टन ग्यास खपत हुन्छ । तर नेपालमा ग्यासको माग भने ३१ हजार मेट्रिक टनको हाराहारीमा हुने नेपाल एलपी ग्यास उद्योग संघले दावी गरेको छ ।

सो ग्यास बजारको मागलाई पूर्ती गर्न अपुग भएको भन्दै ग्यास उद्योगीहरुले कोटा बढाउन माग गरेको थियो । गत बर्षमा ४२ लाख हुँदा पनि दैनिक खपत २२ हजार मेट्रिक टन नै खपत भएको थियो । सिलिन्डर बढाएर ५२ लाख पु¥याउँदा पनि कोटा बढाउन माग गरेको भन्दै सरकारले वास्ता नगरेको हो । अर्थमन्त्रीले कोटा नबढाउने निणर्य गरेपछि उद्योगीहरुले ग्यास अभाव गराएको विक्रेताहरुको आरोप छ ।

तर नेपाल आयाल निगमले भने दशंैमा ग्यास अभाव नहुने बताएको छ । सोमवार ग्यास उद्योगीहरुसँगको छलफलमा उनीहरु दशैमा ग्यासको कोटा नबढाएपनि आन्दोलन गर्नेलगायत कार्य रोक्न तयार भएको निगमका प्रवक्ता मुकुन्द घिमिरे बताउँछन् । त्यसैले दशैमा ग्यास अभाव नहुनेमा उपभोक्तालाई विश्वस्त हुन सुझाव दिएका छन् ।

भदौ १० गतेसम्म ग्यासमा कोटा नबढाए आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए । निगमले भने रातो र निलो रङको छुट्टाछुटै मूल्य निर्धारण नभएसम्म कोटा नवढाउने निणर्य गरेको थियो । चाडपर्वको मुखमा उद्योगीहरुले आफ्नो नैतिकता विर्सेर समग्र बजारलाई असर पार्ने गरी ग्यासको कृत्रिम अभाव गराउनेलाई कारवाही गर्नुपर्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । ‘सरकारले यसमा कार्टेलिङ गर्नेलाई प्रचलित सवै ऐन लगाएर कारवाही गर्नुपर्छ’ उनले भने ।

यदी त्यस्तो हो भने सरकारले कालोबजारी गर्नेलाई कारवाही गर्नुपर्ने उपभोक्ता रवि अधिकारी बताउँछन् । ‘चाडपर्वमा यस्तो गर्ने उद्योगीलाई आगामी दिनमा ग्यास विक्री नगर्ने गरी प्रतिवन्ध लगाउनुपर्छ’ उनी भन्छन् ।


  •  
  •  
  •