गोलाप्रथा गरी ग्यास वितरण

266
  •  
  •  
  •  

काठमाडौं १३ । तीन महिनापछि जिल्लामा भित्रिएको ४ सय थान ग्यास हजारौं उपभोक्ताबीच बाड्न मुस्किल परेपछि शनिबार गोला प्रथा गरि बाँडिएको छ ।

प्रशासन कार्यालय र उद्योग वाणिज्य संघको अगुवाईमा भित्रिएको ग्यास शनिबार बेनीबजारमा गोलाप्रथाबाट वितरण गरिएको छ । ३ महिनापछि ल्याइएका ४ सय थान ग्यास बेनीका ५ हजार उपभोक्तालाई सहज रुपमा वितरण गर्न सम्भव नहुने भएपछि यो उपाय अपनाइएको हो ।

सार्वजनिक स्थलमा हजारौं उपभोक्ताबीच गोला खोलिएको थियो । गृहलक्ष्मी कम्पनीका ४ सय थान ग्यास सिलिन्डरमध्ये जिल्ला प्रशासन कार्यालयलाई १० थान तथा ग्यासका स्थानीय बिक्रेतालाई ९ थान कोटा छुट्याएर बाँकी रहेका ३ सय ८१ थान सिलिन्डर उपभोक्तालाई गोला प्रथाबाट वितरण गरिएको हो । ७ किलोग्राम तौलको ग्यासको ६ सय ६८ रुपैयाँ तोकिएपनि ८ सय २५ रुपैयाँमा बिक्री गरिएको हो । तनहुँको दमौलीबाट सिलिन्डर ल्याउने तथा पुर्‍याउने ट्रकलाई जिल्ला प्रशासनले नियमित मूल्यको डिजेल उपलब्ध गराए पनि व्यापारीको दबाबमा ग्यासको मूल्य बढी तोकिएको हो । जिल्लामा गृहलक्ष्मी, शक्तिसहित अन्य ग्यास कम्पनीका गरी ७० हजार उपभोक्ता छन् ।

‘सबैको चुलो निभेको छ । सदरमुकामवासीलाई मात्र उपभोक्ता कार्ड वितरण गरी कम्पनी अनुसारका उपभोक्ताबीच बढी न्यायोचित वितरण प्रणाली गोला प्रथालाई छान्यौं,’ संघका प्रथम उपाध्यक्ष उत्तम कर्माचार्यले भने, ‘ग्यास ल्याउन र प्रशासनले डिजेल, हामीले ढुवानी साधन र प्रहरीले सुरक्षा व्यवस्था गर्‍यो, उपभोक्ताले धैर्यता देखाए ।’

अन्य कम्पनीको ग्यास भित्रिएपछि पनि यही विधिबाट उपभोक्तालाई वितरण गरिने संघले जनाएको छ । यसअघि वितरण प्रणाली सहज र पारदर्शी बनाउन उपभोक्ता कार्ड वितरण गरिएको थियो । गोला प्रथाबाट छानिएका उपभोक्ताले आइतबारसम्म आफ्नो उपभोक्ता कार्डसहित रित्ता सिलिन्डर बुझाई आधा भरिएका सिलिन्डर लैजान सक्ने छन् । कान्तिपुर दैनिकमा समाचार छ ।


  •  
  •  
  •