चाहिएजति ग्यास दिइन्छः भारत

126
  •  
  •  
  •  

काठमाडौं १४ माघ ।
केन्द्र सरकारको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले नेपालमा मागअनुसारको ग्यास आपूर्ति तत्काल गर्न इन्डिया आयल निगम (आईओसी) लाई निर्देशन दिएको छ ।

पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले नेपालका लागि कोटा बढाई आपूर्ति प्रक्रियामा तदारुकता देखाउन मातहत निकायलाई निर्देशन दिएका हुन् । मंगलबार दिउँसो नेपालका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकालसँगको भेटमा प्रधानले ‘फेब्रुअरी महिनादेखि मासिक ३० हजार मेट्रिक टन ग्यास नेपाल जाने तयारी भइरहेको’ र यो महिनाको निर्यात अनुपात तुरुन्त बढाइने बताएका थिए । ‘विगतमा बरौनी (बिहार) को ग्यास प्रशोधन तथा आपूर्ति केन्द्रमा केही प्राविधिक समस्या आएर ग्यास आपूर्तिमा ढिलाइ भएको थियो, तर अब त्यस्तो अवरोध हटिसकेको छ,’ मन्त्री प्रधानले भने, ‘अहिले नेपाली पक्षको मागभन्दा बढी स्टक राख्न मिल्ने गरी ग्यास आपूर्तिको काम सुरु भइसकेको छ ।’

मन्त्रालयमा भएको भेटवार्तामा आईओसीका अध्यक्ष बी. अशोकसहितका पदाधिकारी संलग्न थिए । गत साता दिल्ली भ्रमणमा आएका वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले पनि मन्त्री प्रधानलाई भेटी ग्यासको सहज आपूर्ति निम्ति आग्रह गरेका थिए । नेपाल एलपी ग्यास उद्योग संघसहितका सरोकार निकायले नेपाली बजारमा मासिक २९ हजार मेटि्रक टनसम्म ग्यासको माग रहेको भन्दै आएकामा सम्पूर्ण माग पूरा हुने गरी भारतबाट ग्यास निर्यात हुने मन्त्री थापाले बताएका थिए । नेपालमा बरौनी (बिहार), हल्दिया (पश्चिम बंगाल), मथुरा (उत्तर प्रदेश) र करनाल (हरियाणा) स्थित प्रशोधन केन्द्रबाट ग्यास जाने गर्छ । तर बरौनीस्थित प्रशोधन केन्द्रमा केही साता समस्या भएर नियमित अनुपातमा निर्यात हुन सकेन र नेपाली बजारमा हाहाकार मच्चियो । मन्त्री थापाले सोमबार भारतीय मन्त्रालयमै गएर समस्याबारे तत्काल छलफल गर्न दूतावासलाई निर्देशन दिएका थिए ।

जनवरी महिनामा सबै नाकाबाट गरी झन्डै २२ हजार मेटि्रक टन मात्रै ग्यास नेपाल निर्यात भएको थियो । बरौनी नाकाबाट ५ दिनमा ग्यास नेपाली बजार पुग्छ भने हल्दियाबाट ९ दिनसम्म लाग्छ । ‘बरौनी नाकाबाट मात्रै मासिक १५ हजार मेट्रिक टनसम्म जानुपर्नेमा पछिल्लो समय ८ हजार मेटि्रक टन मात्रै गइरहेको छ,’ पेट्रोलियम मन्त्रालयका एक अधिकारीले भने ।

यसैबीच नेपाल आयल निगम र आईओसी पदाधिकारीबीच यसै साता दिल्लीमा भेटवार्ता हुने भएको छ । कार्यवाहक राजदूत ढकालले उक्त अवसरमा ग्यास निर्यातको द्विपक्षीय संयन्त्र र प्रभावकारी पद्धतिको पहिचानबारे छलफल हुनेछ ।
कान्तिपुरबाट


  •  
  •  
  •