काठमाडौँ, १८ पुस (ओएनएस) : बजारमा खाने पकाउने ग्याँस र पेट्रोलियम पदार्थको चरम अभाव भएकोप्रति चासो ब्यक्त गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धित निकायालाई सहज पार्न निर्देशन दिएको छ । निर्देशनपछि सम्बन्धित निकायले ७ दिनभित्र सहज पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
ग्याँस तथा पेट्रोलियम पदार्थको चरम अभावका कारणबाट आम उपभोक्ताले दैनिकरुपमा कठिनाई भोग्नु परिरहेको भन्दै उजुरी परेपछि आयोगको ध्यानाकषर्ण भएको हो ।
अख्तियारले वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, वाणिज्य विभागका महानिर्देशक, नेपाल आयल निगमका कार्यकारी निर्देशक लगायतका पदाधिकारीहरुसँग शुक्रबार आयोगमा छलफल गरेको थियो । छलफलपछि सम्बन्धित पदाधिकारीले आम उपभोक्ताहरुले दैनिकरुपमा प्रयोग गर्ने खाना पकाउने ग्याँसको आपूति र वितरणलाई ७ दिनभित्र सहज बनाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
साथै ग्याँस लगायतका पेट्रोलियम पदार्थहरुको आपूर्ति एवं बितरण नियमित गर्न तत्काल अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने, कृत्रिम अभाव श्रृजना गरी कालोबजारी गर्ने एवं आम उपभोक्ताको हित प्रतिकुल हुनेगरी आपूर्तिमा व्यवधान खडागर्नेलाई कानून बमोजिम कारवाही गर्ने पनि सम्बन्धित पक्षले प्रतिबद्धता जनाएका छन् ।
उनीहरुले ग्याँस लगायतका पेट्रोलियम पदार्थको हाल बजारमा देखिएको अभाव तथा आम उपभोक्ताहरुमा रहेको अन्यौलका सम्बन्धमा आपूर्ति वितरणको वास्तविक अवस्थाबारे सुसूचित गर्ने प्रतिबद्धता जनाएका छन् ।