काठमाडौं १५ माघ (ओएनएस) : लामो समयदेखि खाना पकाउने ग्यास अभाव कायम रहेका बेला सरकारले आजदेखि राजधानीको विभिन्न ठाउँमा ग्यास वितरण गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । नेपाल आयल निगमको तालिकाअनुसार आजदेखि एक दिन बिराएर माघ २७ गतेसम्म उपत्यकाको तिनै जिल्लाको विभिन्न ठाउँमा ग्यास बाँडिनेछ ।
तालिकाअनुसार आज नयाँ बानेश्वर, कोटेश्वर, बत्तिसपुतली, शंखमुल, माइतीघर, बुद्धनगर, बबरमहल क्षेत्रमा ग्यास वितरण गरिने उल्लेख छ । ती क्षेत्रहरुमा यसअघि आफूले जुन बिक्रेताबाट ग्यास लिने गरेको त्यहींबाट मात्र लिन पाइने निगमले जनाएको छ ।
आफूसँग भएको सिलिण्डर मात्रै साट्न पाइने र ग्यासको मूल्य एकहजार ४ सय ७० रुपैयाँ पर्ने पनि निगमले जनाएको छ । तालिका अनुसार भोलि पुरानो बानेश्वर, सिनामगंगल, चाबहिल, कपन, सुन्दरीजललगायत क्षेत्रमा ग्यास दिइने भएको छ । यसअघि नेशनल ट्रेडिङबाट ग्यास वितरण गरेको सरकारले ग्यास सहज बनाउन भन्दै त्यो स्थगित गरेर दास्रो विकल्प शुरु गर्न लागेको हो ।