पूरै सिलिन्डर ग्यास भर्न उद्योगीले मागे अनुमति

167
  •  
  •  
  •  

काठमाडौं २६ पुस ।
सञ्चालन खर्च बढेको उद्योगीको दाबी

सरकारको निर्देशनअनुसार उद्योगीले दुई महिनादेखि सिलिन्डरमा आधा ग्यास भर्दै आएका छन् । भारतबाट आयात बढेको र आधा ग्यास मात्रै भर्दा सञ्चालन खर्च बढेको भन्दै उनीहरूले सरकारसमक्ष पूरै सिलिन्डर ग्यास भर्न अनुमति मागेका छन् । ‘अहिले आधा ग्यास भर्दा सिलिन्डरको अभाव भयो । ग्यास नपाएपछि सर्वसाधारणले पनि सिलिन्डर बाहिर ल्याएनन् । सञ्चालन खर्च पनि धेरै हुन थाल्यो । त्यसैले, पूरै सिलिन्डर भर्ने माग गरेका हौँ,’ ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले भने ।

कति हुन्छ उद्योगीलाई नाफा ?

ग्यास विक्रेता र उद्योगीको सञ्चालन खर्चदेखि मुनाफासम्म नेपाल आयल निगमले ग्यारेन्टी गरिदिएको छ । उद्योगीलाई निगमले प्रतिसिलिन्डर दुई सय ३२ रुपैयाँ ५० पैसा उपलब्ध गराउँदै आएको छ । त्यसमा विक्रेताले ग्यास बेचेबापत प्रतिसिलिन्डर २५ रुपैयाँ पाउँछन् । बाँकी सबै रकम उद्योगीले सञ्चालन खर्च, ढुवानी खर्च, मुनाफालगायतका शीर्षकमा पाउँदै आएका छन् ।

१० दिनमा १७७ बुलेट भित्रिए

पुस महिना लागेसँगै तुलनात्मक रूपमा ग्यास आयात बढेको छ । रक्सौलबाहेक काँकडभिट्टा, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीबाट १० दिनयता एक सय ७७ बुलेट भित्रिएका छन् । त्यसमध्ये ६० प्रतिशत (एक सय ६ बुलेट) काठमाडौं आएका छन् । तर, यो ग्यास पारदर्शी रूपमा वितरण हुन सकेको छैन, जसका कारण सर्वसाधारणले सहजै पाउन सकेका छैनन् । सामान्य अवस्थामा देशभर दैनिक ६६ बुलेट र उपत्यकामा ३३ बुलेट ग्यास खपत हुने गरेको छ ।

प्रतिमहिना २० लाख सिलिन्डर खपत

उद्योगीहरूका अनुसार प्रत्येक महिना मुलुकभर २० लाख सिलिन्डर (१४.२ किलोको) ग्यास खपत हुने गरेको छ । भारतको नाकाबन्दीयता उद्योगीले आधा सिलिन्डर मात्र ग्यास उपलब्ध गराउँदै आएका छन् । अक्टोबरमा कुल खपतको ११ प्रतिशत, नोभेम्बरमा १७ प्रतिशत र डिसेम्बरमा २५ प्रतिशत ग्यास आएको उद्योगीहरूको भनाइ छ । पहुँचवालालाई मात्र ग्यास उद्योगीले महँगोमा पहुँचवाला वर्गलाई धेरै ग्यास दिएको सर्वसाधारणको आरोप छ । होटेल, रेस्टुरेन्टलाई धेरै मूल्य लिएर ग्यास दिने गरिएकाले सर्वसाधारणले सहज ढंगले अहिलेसम्म पाउन नसकेको उपभोक्ताकर्मीको भनाइ छ ।

१० दिनपछि पूरै सिलिन्डर भर्न दिने तयारी

उद्योगीहरूले पूरै सिलिन्डर ग्यास भर्न माग गरे पनि नेपाल आयल निगम र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग तत्काल सो अनुमति दिने पक्षमा छैनन् । निगम प्रवक्ता मुकुन्द घिमिरेले सर्वसाधारणले सहजै नपाइसकेकाले पूरै सिलिन्डर ग्यास भर्ने प्रस्ताव तत्कालै सदर नहुने बताए । ‘तत्कालै पूरै सिलिन्डर ग्यास भरेर पठाउने उद्योगीको प्रस्तावलाई मान्न सकिँदैन,’ उनले भने । तर, अनुगमनकारी निकाय वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्वासेले भने अझै कम्तीमा १० दिनसम्मको वितरण प्रणाली हेरेर पूरै सिलिन्डर ग्यास भर्न दिन सकिने बताए ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •