सिराहा २६ मंसिर (ओएनएस) : लामो समय पछि सिरहामा भएको ग्यास सिलिण्डिर वितरणमा तस्करहरुसंग प्रहरीको मिलोमतोले सर्वसाधारणहरु सास्ती पाएका छन् । लहानमा विहीवार विहानै देखि करिब ५ हजार आधा सिलिण्डिर ग्यास वितरण गरिएपनि सर्वसाधारणहरु दिनभर लाइन बसेर पनि ग्यास पाउन सकेनन् ।
ग्यासका लागि दिनभर लाइनमा बसेका सर्वसाधारणहरुकै अगाडि ग्यासका तस्करी गर्नेहरु ग्यास लिइरहेको देखेर सर्वसाधारणहरु आक्रोशित भएका थिए । प्रहरीको मिलोमतोमा ग्यास तस्करी गर्ने र चिनजानको आधारमा ग्यास वितरण गरिएपछि दिनभर लाइनमा बसेकाले ग्यास नपाउदा दुःखी भएर घर फर्किनु परेको स्थानीय रामबाबु महतोले बताए ।
कोशी कम्पनीको ग्यास लामो समय पछि सिरहाको लहानमा वितरणका लागि कम्पनीले आफ्ना डिलरमा पठाएको थियो । ग्राहकलाई पहिले देखि कुपन वितरण गरेर खाली सिलिण्डिर लिइसकेका डिलर संचालकहरुले विहीवार ग्यास सिलिण्डिर उपलब्ध गराउने आश्वासन दिइएको थियो । तर लहानमा ५ वटा डिलर संचालकको लागि आएको ग्यास प्रहरीले बुधवार राती नै आफ्नो कब्जामा लिएको थियो ।
प्रहरीले ग्यास कब्जामा लिएर आफ्नो अनुसार वितरण गरिएको थियो । ग्यास डिलरहरुले आफ्ना ग्राहकलाई ग्यास दिन नपाएर प्रहरीले भनेको मान्छेहरुलाई मात्रै दिनुपरेकोमा डिलर संचालकहरु निरास भएको थियो । एक जना ग्यास डिलर संचालकका अनुसार प्रहरीहरुले आफ्नो व्यक्तिका लागि र एक जनालाई २० वटासम्म ग्यास वितरण गर्न लगाएको बताए । उनले आफ्नो नाम नबताउने सर्तमा भने ग्यास वितरणका लागि बसेका करिब ६० जना प्रहरीलाई दवाव मासु भात खुवाउनु परेको बताए ।
आफ्ना ग्राहकलाई ग्यास नदिएको झोकमा ग्राहकहरुले ग्यास डिलर संचालकहरुलाई गाली गलौज गरेका थिए । प्रहरीको हप्कीदप्की र ग्राहकको गाली गलौजले वितरण समय पटक पटक हल्ला भएको थियो । लहानमा ४ महिनापछि विहीवार वितरणका लागि ग्यास डिलरहरुले ग्यास मगाएका थिए ।
प्रहरीको मिलोमतोमा ग्यास वितरण गरिएपछि ग्राहकहरुले होहल्ला गरिएको भिडियो खिचिरहेको लहान स्थित एक युवकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइ निर्घात कुटपिट गरिएको छ । भिडियो खिचेको भन्दै लहान नगरपालिका ९ का २२ बर्षिय युवक समिर आचार्यलाई इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक पाचुराम चौधरीले ग्यास वितरण गरिएको ठाउ सडक डिभिजन कार्यालय लहानको कमाउण्ड भित्र लगरे कुटपिट गरी टाउको फुटाइ दिएको छ । आचार्यको टाउकोमा चार वटा स्टिच लागेको छ ।