रक्सौलमा बुलेटबाट ग्यास चुहिन थाल्यो

78
  •  
  •  
  •  

काठमाडौं १९ मंसिर ।
लामो समयदेखि भारतको रक्सौलमा रोकिएका तीनवटा ग्यासका बुलेट चुहिएका छन् । बुलेटबाट ग्यास निस्केपछि रक्सौल बजारमा आगलागीको जोखिम बढेको छ । नेपाल आयल निगमको अमलेखगन्ज डिपो प्रमुख भानु खनालले शुक्रबार साँझदेखि ग्यासका तीनवटा बुलेट चुहिएको जानकारी दिए । रक्सौल बजारबाट करिब पाँच किलोमिटरको दूरीमा ग्यासका एक सय ९० वटा बुलेट रोकिएका छन् । तीमध्ये एचआर.६९डी ६८२०, एचआर.५५आर ८८७३ र आरजे.१४जी १७३३ नम्बरका तीनवटा बुलेटबाट ग्यास चुहिएको हो । चुहिएकामध्ये दुईवटा बुलेटलाई सामान्य मर्मत गरिएको खनालले बताए ।

‘दुईवटा बुलेटमा चिनी, साबुन र चुनाको पेस्ट बनाएर टालिएको छ,’ उनले भने, ‘यो प्राथमिक मर्मतसम्भार मात्रै हो ।’ एउटा बुलेटबाट धेरै ग्यास चुहिएकाले पछुवा भन्ने स्थानमा पुर्‍याएको जानकारी पाएको उनले बताए । खुला भनिएको पछुवा गाउँ पनि आगलागीको जोखिममा रहेको निगमका कर्मचारीहरू बताउँछन् । खनालका अनुसार स्थानीय प्रहरीले बुलेटबाट चुहिएको ग्यास नियन्त्रण र बुलेटको मर्मत गरिरहेको छ । लामो समयदेखि रोकेर राखिएका बुलेटबाट ग्यास चुहिएपछि रक्सौलमा आगलागीको जोखिम बढेको छ ।

‘ग्यासलाई चाप नियन्त्रण गरेर बुलेटमा हालिएको हुन्छ,’ खनालले भने, ‘त्यसैले बुलेटमा कुनै अप्रिय घटना भए रक्सौल बजारको स्थिति भयावह हुन्छ ।’ ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले रक्सौलमा तीनवटा ग्यासको बुलेट चुहिएको पुष्टि गर्दै रक्सौल र सीमावर्ती वीरगन्ज नै उच्च जोखिममा रहेको बताए ।

उनले लामो समयदेखि ग्यास बोकेका बुलेट दिउँसोको तातो घाम र रातको चिसोमा राख्न नहुने भएका कारण चुहिएको बताए । ‘मैले दुई महिनादेखि भन्दै आएको थिएँ कि भारतले रक्सौलमा ग्यासका बुलेट होइन, बम रोकेर राखेको छ,’ उनले भने, ‘शुक्रबार साँझदेखि ती बुलेट चुहिएका छन् । अब आगो लाग्ने खतरा धेरै छ ।’ बुलेटबाट ग्यास चुहिन थालेपछि घनाबस्ती रहेको रक्सौल बजार असुरक्षित बनेको उनको भनाइ छ । ग्यासका बुलेट रक्सौल बजारबाट करिब चार किलोमिटर टाढा रहे पनि हावामा फैलिएर आगो सल्किन सक्ने घिमिरेको दाबी छ । ‘चुहिएको ग्यासमा आगो लागे तीनवटा बुलेटका माध्यमबाट अरू बुलेटमा पनि आगो लाग्छ र रक्सौलसँगै सीमावर्ती वीरगन्जमा समेत ठूलो खतरा हुन सक्छ,’ उनले भने ।

लामो समयदेखि रक्सौलमा अड्किएका ग्यास बुलेट भारतले लैजान अनुमति दिए तत्कालै ल्याउन सकिने अमलेखगन्ज डिपो प्रमुख खनाल बताउँछन् । ‘रक्सौलमा असुरक्षित देखिएका बुलेट नेपाल ल्याउन अनुमति दिए तत्कालै ल्याउन तयार छौँ,’ उनले भने । ग्यास उद्योगीले पनि रक्सौलमा अड्किएका सबै ग्यास बुलेट जतिसक्दो चाँडो नेपाल ल्याउनुपर्ने बताएका छन् । भारतले वीरगन्ज क्षेत्रमा मधेसी मोर्चाको आन्दोलन भइरहेका कारण नाकाबाट सामान नेपाल भित्र्याउन सुरक्षा नभएको भन्दै ग्यासका बुलेट रक्सौलमै रोकेर राखेको छ ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •