विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौं

510
  •  
  •  
  •  

काठमाडौं, १३ चैत(ओएनएस) : विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौं १९ औँ गन्तव्यमा परेको छ ।

घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले सार्वजनिक गरेको सूचीमा नेपालको राजधानी काठमाडौंलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९ औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो ।

ट्रिप एडभाइजर डटकमले काठमाडौं उपत्यका र आसपासका धार्मिक एवं ऐतिहासकस्थल, वास्तुकलायुक्त अनुपम भवन, संग्राहलय, मठमन्दिर, चन्द्रागिरि, नगरकोट, शिवपुरी निकुञ्ज, विभिन्न उद्यानका साथै विश्व सम्पदा सूचीमा सूचीकृतस्थल हरेक यात्रीले हेर्नैपर्ने स्थानका रुपमा उल्लेख गरेको छ ।

बौद्धनाथ, कपन गुम्बा, पशुपतिनाथ, केशरमहलस्थित स्वप्न उद्यान, काठमाडौँ, ललितपुर, भक्तपुर दरबार क्षेत्रका साथै ठमेललगायत स्थानलाई दर्शनीयस्थलका रुपमा उक्त साइटमा चित्रण गरिएको छ ।

यस्तै ट्रिप एडभाइजर डटकमले लण्डनलाई पहिलो नम्बरमा समावेश गरिएको छ भने फ्रान्सको प्यारिस दोस्रो, इटलीको रोम तेस्रो, ग्रीसको क्रेट चौथो र इण्डोनेशियाको बाली पाँचौ नम्बरमा राखेको छ ।

यस्तै घुम्नैपर्ने शहरको सूचीमा दुबईलाई १० औँ र संयुृक्त राज्य अमेरिकाको महानगर न्यूयोर्कलाई १३ औँ स्थानमा राखेको छ ।


  •  
  •  
  •