अढाइ वर्षदेखि एक्लै अनसनमा

337
  •  
  •  
  •  

काठमाडौं २ पुस ।
अढाइ वर्षदेखि गंगामाया अधिकारी वीर अस्पतालको एउटा शैयामा मुढो झैं पल्टिरहेकी छन् । यसै गरी अर्काे खाटमा पल्टेका पति नन्दप्रसाद अधिकारी आमरण अनसन बस्दाबस्दै बितेको पनि धेरै भइसक्यो ।

उनी एक्लै भए पनि न्याय खोज्ने बाटोमा हिँडिरहेकी छन् । आफ्ना छोराका हत्यारालाई कारबाही हुनु पर्ने माग राखेर सत्याग्रहमा उत्रिएकी उनका चिसा दिनहरु अक्सर एकान्तमा एक्लै बित्ने गर्छ ।

कहिलेकहिँ शुभेच्छुक र मानवअधिकारवादीहरु फाट्ट फुट्ट पुग्ने गर्छन् र ढाडस देखाउँछन् । जस्तो कि बुधबार मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा पुगे । उनको स्वास्थ्य स्थिति बुझे । अनि प्रतिबद्धता जनाए,‘आयोगले सक्ने सहयोग गर्छ ।’

नन्दमाया केही बेर चुपचाप बसिन् । आफूले न्याय नपाएकामा लामो सुस्केरा छाडिन् र भनिन्,‘मेरो हाल पनि बुढाकै जस्तो होला जस्तो छ ।’ आयोगले उनले छानबिन हुनुपर्छ भनेको घटनाको अनुसन्धान गरी २०६५ चैत २३ मा दोषीउपर फौजदारी अभियोगमा कारबाही चलाउन, पीडित परिवारजनलाई क्षतिपूर्ति दिन र आफ्नो घरमा पुन: फर्कन सुरक्षा प्रदान गर्न नेसरकारलाई सिफारिश गरेको स्मरण शर्माले उनका अघिल्तिर गरे ।

फर्किएर विज्ञप्ती पनि जारी गर्दै नेपाल सरकारलाई प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह पनि गरे । अपहरणमा परी २०६१ जेठ २४ मा हत्या गरिएका आफ्ना १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै दस वर्षदेखि संघर्षरत गंगामाया माग पुरा नभएसम्म पतिको लास जलाउन नदिने र आफू पनि यो भद्र आन्दोलनबाट पछि नहट्ने पक्षमा छिन् ।

उनी वकिल होइनन् । तर इजलाशमा बोलिरहेकी थिइन् । ह्वीलचियरमा बल्लतल्ल सुरक्षाकर्मीले लगिदिएका गंगामाया अधिकारीले मंगलबार आफ्नो लागि न्याय माग्न आफैंले आवाज उठाइरहँदा सर्वाेच्च अदालतको एक संयुक्त इजलाशमा सन्नाटा छायो ।

‘मेरा छोरालाई गोली हान्नेहरु यही कोठामा छन्’ उनले ह्लिचियरबाटै न्यायाधीश सुशीला कार्की र गोपाल पराजुलीलाई सम्बोधन गर्दै भनिन्,’ उनले ह्लिचियरबाटै न्यायाधीश सुशीला कार्की र गोपाल पराजुलीलाई सम्बोधन गर्दै भनिन्,‘यो अदालतले अपाराधीलाई सजाय दिँदैन र उनीहरु छाति फूलाएर बाँच्छन् भने म मर्छु ।’

यसै गरी अनसन बस्दाबस्दै असोज ६ गते उनका पति नन्दप्रसादको उनकै छेउमै प्राण गएको थियो । हत्यारालाई कारबाही नभएसम्म पतिको सदगत नगर्ने उनको अडानका कारण नन्दप्रसादका लास अहिले पनि शिक्षण अस्पतालकै शव गृहमा राखिएको छ । आयोगका अध्यक्ष शर्मालाई उनले यो तथ्यको स्मरण गराउँदै भनिन्, ‘न्याय पाइन भने मेरो बाटो पनि त्यही हो ।’

गंगा मायाले सहमती जनाए उनका लागि जीवन पर्यन्त बसोबास र खानपानको सुविधा उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदले गत वर्षको कात्तिक १० गते नै गरिसकेको थियो । गंगामाया भने आफ्ना छोराको हत्यारालाई जसरी पनि कारबाही भएको देख्न चाहन्छिन् ।

कान्तिपुरबाट


  •  
  •  
  •