वीर गणेशमान फुटबलको उपाधि आर्मीको पोल्टा

174
  •  
  •  
  •  

विराटनगर, जेठ २५ (ओएनएस) । विराटनगरमा सम्पन्न एनटिसी वीर गणेशमान सिंह अन्तर्राष्ट्रिय गोल्ड कपको उपाधि त्रिभुवन आर्मी क्लबले उचालेको छ । स्थानयी सहिद रंगशालामा शनिबार भएको फाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–१ गोलले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधि कब्जासँगै आर्मीले मोफसलकै सर्वाधिक राशि रहेको नगद ५ लाखसमेत हात पारेको छ । फाइनलमा उपविजेतामै चित्त बुझाउन बाध्य पुलिसले नगद २ लाख ५० हजार प्राप्त गरेको छ । विजेता र उपविजेता टिमलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले नगद, शिल्ड, ट्रफि तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा आर्मीले शुक्रबार अफ्रिकन युनाइटेडलाई पराजित गर्दै र पुलिसले बुधबार आयोजक वीर गणेशमान सिंह स्पोर्टस् एकेडेमीलाई पराजित गर्दै फाइनलमा भिडन्त पक्का गरेका थिए । खेलको १८ मिनेटमा पुलिसका जुमानु राईले पेनाल्टी सुट आउटमा गोल गर्दै टिमलाई अग्रता दिलाएको भए पनि १४ मिनेटपछि खेलको ३२ औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले गोल गर्दै खेल बराबरी गरेका थिए ।

पहिलो हाफ बराबरीमा टुंगिए पनि दोस्रो हाफको ४३ मिनेटमा आर्मीका भरत खवासले पुलिसको डिएरियाबाट हानेको सट गोलमा परिणत भएको थियो । उक्त गोलसँगै आर्मीले खेलमा २–१ को अग्रता लिएको थियो । त्यसपछि खेलको अतिरिक्त समयको दुई मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले दिएको बललाई दीपक लामालाई परिवर्तन गरी मैदान छिरेका टंक बस्नेतले पुलिसको गोलपोष्टको जाली चुमाई विजय सुनिश्चित गरेका थिए ।

पुलिसले आर्मीका विवेकप्रताप पन्तले आफ्नो डिएरियाभित्र पुलिसका भोला सिलवाललाई फल्ड गरेबापत पेनाल्टी पाएको थियो । खेलको म्यान अफ द म्याच आर्मीका भरत खवास भएका छन् । उनले नगद ५ हजार प्राप्त गरे । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका भोला सिलवाल भएका छन् भने उनले मोटरसाइकलबापतको नगद १ लाख ५१ हजार रुपैयाँ प्राप्त गरे ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट डिफेन्डर आर्मीका हिरण्य मगर, उत्कृष्ट गोलकिपर आर्मीकै विकास मल्ल, उत्कृष्ट मिडफिल्डर आर्मीकै राजु तामाङ र प्रतियोगिता भर ४ गोल गरेका आर्मीका टेकबहादुर बुढाथोकी हाइस्कोर भएका छन् भने उत्कृष्ट फरवार्ड पुलिसका जुमानु राई भएका छन् । उनीहरूले नगद १०÷१० हजार रुपैयाँ प्राप्त गरेका छन् । जेठ १८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब, सिक्कीमको सिनाचु क्लब, भुटानको सिएफसी क्लब र सिम्रिक सरस्वती क्लबलेसमेत सहभागिता जनाएका थिए ।


  •  
  •  
  •