वरिष्ठ अधिवक्ता शर्माको निधन

211
  •  
  •  
  •  

काठमाडौँ, १० कात्तिक(ओएनएस) : वरिष्ठ अधिवक्ता एवम् कानुनविद् गणेशराज शर्माको निधन भएको छ । लामो समयदेखि अल्जाइमर्स (बिर्सने रोग)बाट पीडित उनको आज दिउँसो ३ः३५ बजे धोबीधारा, काठमाडौँस्थित उनकै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाल बार एसोसिएसनका महासचिव सुनील पोखरेलका अनुसार, आजै साँझ ७ः३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ ।

शर्माले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता वीपी कोइरालासँग निकट रहेर राजनीतिक एवम् कानुनी सल्लाहकारको भूमिका समेत निभाएका थिए । राष्ट्रवादी, निष्ठावान् एवम् उच्च बौद्धिक क्षमताका कारण कानुनी क्षेत्रमा उच्च आदरका साथ उनको नाम लिइन्छ ।

आफ्ना मूल्य मान्यता एवम् अडानमा कुनै पनि प्रभाव र दबाबबाट विचलित नहुने कारणले उनका अगाडि प्रभावशाली राजनीतिक व्यक्तित्वहरु समेत झुक्थे । गिरिजाप्रसाद कोइरालाले संसद विघटन गर्दा उनको पक्षमा वकालत गरेका शर्माले पछि मनमोहन अधिकारीले संसद विघटन गर्दा कांग्रेस नेताहरूको विपक्षमा वकालत गरेका थिए । संसद विघटन प्रधानमन्त्रीको अधिकारको कुरा हो भन्ने आफ्नो मान्यताका कारण यी दुई घटनामा अलग अलग पक्षको वकालत गरेको उनको भनाइ थियो ।

राजनीतिमा पनि टिप्पणी गरिरहने र भारतीय हस्तक्षेपका चर्का आलोचक मानिने शर्माको माओवादी आन्दोलनलाई ‘चिनियाँ ब्रान्डको भारतीय माल’ भन्ने टिप्पणी निकै चर्चित पनि भएको थियो ।


  •  
  •  
  •