फिफाद्वारा एन्फा अध्यक्ष थापालाई १० वर्ष प्रतिबन्ध, २१ लाख जरिवाना

130
  •  
  •  
  •  

काठमाडौँ, ३० कात्तिक(ओएनएस) : भ्रष्टाचारको आरोपमा अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष गणेश थापालाई फिफाको अनुशासन कमिटीले सबैखाले फुटबल गतिविधिबाट १० वर्षका लागि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धसहित थापामाथि २० हजार स्विस फ्र्यांक (करिव २१ लाख रूपैयाँ) जरिवाना गर्ने निर्णय पनि गरेको छ ।

फिफाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उनीमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबलका सबैखाले गतिविधिमा आजदेखि लागू हुने गरी प्रतिबन्ध लगाइएको छ ।’

सन् २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कंग्रेसमा घूस लिएको भन्दै उनलाई प्रतिबन्ध लगाइएको हो ।

ह्यान्स जोचिमले नेतृत्व गरेको स्वतन्त्र अनुशासन कमिटीले थापालाई प्रतिबन्ध गर्ने निर्णय गरेको हो । थापासहित लाओस् फुटबल फेडरेसनका अध्यक्ष भिफेट सिहाचरलाई समेत दुई वर्ष प्रतिबन्ध लगाइएको छ ।

डा. कर्णेल बोर्बेलीले नेतृत्व गरेको समितिले गरेको अनुसन्धानमा थापालाई दोषी देखाइएको हो ।


  •  
  •  
  •