गणेश थापाले हमामबाट २ करोड लिएको खुलासा

185
  •  
  •  
  •  

काठमाडौं, २६ जेठ (एजेन्सी) : एसियाली फुटबल महासंघ (एएफसी)का विवादित पूर्वअध्यक्ष मोहमद विन हमामबाट अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले एक लाख १५ हजार पाउण्ड अर्थात करिब १ करोड ८५ लाख रुपैयाँ लिएको खुलासा भएको छ।
कतारलाई सन् २०२२को विश्वकप फुटबल आयोजना गर्ने अधिकार दिलाउन हमामले थापालाई आफ्नो कम्पनी केम्कोबाट उक्त रकम सन् २०१० मार्च र अगस्टमा दिएको बेलायती अखवार सन्डेटाइम्सले जनाएको छ ।
मतदानमा अफ्रिकी र दक्षिण एसियाली मुलुकमा फुटबल पदाधिकारीलाई प्रभावित गर्न हमामले ठूलो रकम बाँडेको दाबी सन्डे टाइम्सको छ । सन्डे टाइम्सले आइतबार प्रकाशित विशेष खोजमुलक लेखमा कतारलाई जिताउन सन् २०१०को विश्वकप फुटबल सुरु हुनु अघि त्यसका लागि मतदान भएको थियो। त्यतीबेला हमामबाट लाभ लिनेमा दक्षिण एसियाली राष्ट्रका अन्य फुटबल पदाधिकारी पनि रहेको समाचारमा उल्लेख गरिएको छ।
सन् २०१० मा थापा दक्षिण एसियाली फुटबल महासंघका अध्यक्ष थिए। हमामले एसियामा बंगलादेशलाई २५ हजार, पाकिस्तानलाई १५ हजार र अफगानिस्तानलाई ४० हजार दिएको जनाइएको छ।
एएफसीका उपाध्यक्षसमेत रहेका थापा ६४औ फिफा कांग्रेसमा भाग लिन शुक्रबार ब्राजिल गएका छन्। दुई वर्षअघि पनि एन्फा अध्यक्ष थापाका छोरा गौरव थापालाई हमामले एक लाख अमेरिकी डलर दिएको समाचार सार्वजनिक भएको थयो।


  •  
  •  
  •