भ्रष्टाचारको अनुसन्धानमा तानिए एन्फा अध्यक्ष थापा

73
  •  
  •  
  •  

काठमाडौं, असोज १२ (ओएनएस) : व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापालाई अध्यक्षको हैसियतमा काम गर्न रोक लगाएको छ ।

आईतबार बसेको समिति बैठकले एन्फामा भएको भ्रष्टाचारको विषय किनारा नलाग्दासम्म थापालाई काम गर्न रोक लगाएको हो । समितिले अनियमितामा मुछिएका अध्यक्ष थापासहित सबैलाई काम गर्न रोक लगाउन निर्देशन दिएको छ ।

समितिले एन्फासँग सम्बन्धित आय र व्ययका विभिन्न पक्षमा गम्भीर समस्या देखिएको भन्दै थप अनुसन्धान गरी २ महिनाभित्र आवश्यक कारवाही अगाडी बढाउन युवा तथा खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पती शुद्धिकरण विभागलाई निर्देशन दिने निर्णय गरेको छ ।

लेखाको निर्देशनपछि सभासद् समेत रहेका एन्फा अध्यक्ष गणेश थापा र  उनीसँग अनियमितामा मुछिएका पदाधिकारीले काम गर्न पाउने छैनन् । सार्वजनिक लेखा समितिले एन्फाको काम सञ्चालनको लागि बैकल्पिक व्यवस्था गर्न समेत भनेको छ ।

सार्वजनिक लेखा समितिले थप अध्ययनका लागि विभिन्न विषयहरु समेत सिफारिस गरेको छ ।
समितिले गोल प्रोजेक्टका लागि प्राप्त भएको १७ करोड ४८ लाख ७० हजार रुपैयाँ, नगरपालिकाबाट प्राप्त २० प्रतिशत रकम बापतको ६४ करोड ६७ लाख अडिट नगराएको विषय, खेलाडी कल्याण कोषको ४० लाख रुपैयाँ र त्यसको आम्दानीको खर्च छानविनका लागि सिफारिस गरेको छ ।

त्यस्तै थापाका छोरा गौरव थापाले एएफसीका अध्यक्षसँग लिएको एक लाख डलर, एएफसीबाट प्रशिक्षकहरुका लागि आएको रकम अडिट नगराएको, साथी भन्ने संस्थालाई विना निर्णय विगत ६ बर्षदेखि प्रतिवर्ष २५ सय डलर दिएको, भवन निर्माण लगायत सार्वजनिक खरीदसँग सम्बन्धित क्षेत्रमा खरीद कानुन पालना नभएको विषय पनि छानविन गर्न सार्वजनिक लेखा समितिले सिफारिस गरेको छ ।

सरकारबाट उत्कृष्ट खेलाडी पुरस्कार वापत प्राप्त रकमको हिसाब किताब नराखेको, एन्फाको नाममा विभिन्न आर्थिक वर्षहरुमा प्राप्त बैंक व्याज वापतका रकमहरुको पनि छानविन गर्न भनिएको छ ।

पेश्की फछ्र्यौट नगरी थप पेश्की दिएको, खाता सञ्चालन, खातामा जम्मा गर्ने र निकाल्ने विधि र एन्फाको खाताबाट व्यक्तिगत खातामा रकम सारेको, विभिन्न निकायमा पेश गरिएको एउटै विषयका फरक प्रतिवेदनहरु देखिएको र अपार्टमेन्ट खरीद गरी रकम भुक्तानी नगरेका भन्दै सार्वजनिक लेखा समितिले थप अनुसन्धानका लागि सिफारिस गरेको छ ।


  •  
  •  
  •