पाण्डे अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

211
  •  
  •  
  •  

काठमाडौ २१ भदौ (ओएनएस) : डकुमेन्ट्री निर्देशक तथा संचारकर्मी गणेश पाण्डे अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । मलेसियाको राजधानी क्वालाम्पुरस्थित दि प्यालेस अफ गोल्डेन हर्सेसमा भव्य समारोहकाबीच एसिया एक्सिलेन्स इन्टरप्रेनुअर फेडेरेसन (इइइएफ) ले पाण्डेलाई ‘द मार्स अवार्ड’ प्रदान गरेको हो । एसियाका पेशाकर्मीहरुलाई प्रदान गरिने यो अवार्डका लागि ३२ राष्ट्रका संचारकर्मी, डकुमेन्ट्री निर्माता, विभिन्न पेशाकर्मी, उद्यमी एवं व्यवसायीहरु प्रतिष्पर्धामा थिए ।
खोजमुलक डकुमेन्ट्रीमार्फत सामाजिक, मानवीय तथा आर्थिक क्षेत्रमा विशेष योगदान पुर्याएका कारण पाण्डेलाई छनौट गरिएको फेडेरेशनले जनाएको छ । संचारकर्मी पाण्डेले सशस्त्र युद्धका क्रममा श्रीमान बेपत्ता पारिएपछि उनका श्रीमती, बालबालिका तथा समाजले भोगेका समस्याका बारेमा ‘अन्तिम सन्देश’ नामक वृत्तचित्र र न्यायका लागि संघर्षरत सावित्री श्रेष्ठका बारेमा ‘बहादुर बहिनी’ नामक वृत्तचित्र तयार पारेका थिए । ती वृत्तचित्रहरुलाई आयोजकले उत्कृष्ट ठहर्याएका थिए ।


हालसालै मात्र मुलुकमा गएको विनाशकारी भुकम्पको विषय समेटेर ‘भाग्यले बाचेकाहरु’ डकुमेन्ट्री ल्याएर संसारभरका नेपालीलाई भावुक बनाएका पाण्डे अहिले चर्चाको शिखरमा छन् ।

पाण्डे विगत १५ बर्षदेखि पत्रकारितामा क्रियाशिल छन् । यसैगरी, डकुमेन्ट्रीमार्फत नेपालका विभिन्न जिल्लामा पत्रकारिता अक्षयकोष स्थापना गरी मानवीय सेवामा योगदान पु¥याएका कारण पनि पाण्डेलाई यो अवार्ड दिइएको आयोजकले जनाएको छ ।

अवार्डबाट आफू निकै उत्साहित भएको पाण्डेले बताए । ‘यो म जस्ता संघर्षशील सबै पेशाकर्मीको जित हो’–उनले भने । इप्लानेट नेपालका सन्तोष सापकोटाको आधिकारिक पहलमा नेपालको तर्फबाट पाण्डेको नाम मनोनयनका लागि पठाइएको थियो ।

सन् २०११ मा स्थापित एसिया एक्सिलेन्स इन्टरप्रेनुअर फेडेरेसन (इइइएफ) ले विभिन्न देशका उत्कृष्ट पेशाकर्मीहरुलाई छानेर हरेक बर्ष अवार्ड प्रदान गर्ने गर्छ । मलेसियामा मुख्यालय रहेको एइइएफका संस्थापक प्रोफेसर डाटो सेरी पादुका र डा. रोविन तान हुन् । संस्थामा मलेसियाबाहेक चीन, हङकङ र ताइवानका व्यक्तिहरु आबद्ध छन् ।

  •  
  •  
  •