गण्डकी मेडिकल कलेजको विषयमा तत्काल छानविन गर्न माग

त्रिविलाई ७२ घण्टे अल्टीमेटम, डिन कार्यालयमा तालाबन्दी
404
  •  
  •  
  •  

काठमाडौं, ५ चैत(ओएनएस) : विद्यार्थी संगठनहरुले पोखराको गण्डकी मेडिकल कलेजको विषयमा तत्काल छानविन गर्नुपर्ने माग राख्दै त्रिविलाई ७२ घण्टे अल्टीमेटमसहित डिन कार्यालयमा तालाबन्दी गरेका छन् ।

अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूकी अध्यक्ष नविना लामाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा ७२ घण्टाभित्र माग सम्बोधन गर्नुपर्ने माग राख्दै अल्टिमेटमसहित तालाबन्दी गरिएको जनाइएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयअन्तर्गत पोखरा गण्डकी मेडिकल कलेजमा विद्यार्थीमाथि गरिएको चरम लुट र शोषणका विरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेको ढेड महिना वितिसक्दा पनि त्रिवि डिन कार्यालयले कुनै पनि चासो नदिएको भन्दै आज विभिन्न विद्यार्थी संगठनले ताला लगाए हौं ।’

सरकार र त्रिवि चिकित्साशास्त्र शिक्षा अध्ययन संस्थानको शुल्क मापदण्डको अवज्ञा गरी तोकिएको भन्दा लाखौँ रकम बढी लिने कजेल प्रशासनविरुद्ध अहिले सो कलेजका विद्यार्थीहरु आन्दोलनमा रहेका छन् । उक्त कलेजमा हाल पठनपाठन सबै ठप्प रहेको छ भने अस्पताल अस्तव्यस्त अवस्थामा रहेको छ ।

विद्यार्थीहरुले डेढ महिनादेखि कलेज र अस्पताल ठप्प हुँदा समेत त्रिविको डिन कार्यालयले चासो नदिएको भन्दै ७२ घण्टाभित्र समस्या समाधानतिर जानुपर्ने माग राखेका छन् ।

तोकिएको समयमा पनि माग सम्बोधन नगरेको खण्डमा त्रिविको उपकुलपति कार्यालय र चिकित्साशास्त्र अध्ययन संस्थानको डिन कार्यालयमा डिनलाई प्रवेश निषेध गर्ने, विश्वविद्यालय पदाधिकारी र डिनको राजीनामा माग गर्ने विद्यार्थी संगठनहरुले चेतवानी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित मेडिकल कलेजमा देखिएको समस्याको समाधान नभएको खण्डमा शिक्षा मन्त्रालयविरुद्ध समेत संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं ।’

हेर्नुहोस् विज्ञप्ति


  •  
  •  
  •