‘प्रमुख तीन दलको एकता टुक्राउने खेल जारी’

186
  •  
  •  
  •  

Puspakamal Dahal prachandaकाठमाडौँ, १७ असोज(ओएनएस) : एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख तीन दलबीचको एकतालाई टुक्राउने खेल भइरहेको दावी गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले संविधान बन्न नदिने तत्वहरुले नै अहिले तीन दलको एकता तोड्न लागिपरेको बताएका छन् । संविधान बनाउन नदिने र हामीलाई फुटाउन खोज्नेहरु नै यतिबेला सरकार बनाउन नदिने खेलमा लागको भन्दै उनले भने, ‘राष्ट्रिय सहमति भत्काउन ठूलो कसरत भइराखेको छ। यो देशभित्रबाट पनि र देशबाहिरबाट पनि भइराखेको छ । हिजो संविधान नबनोस् भन्ने शक्ती अहिले राष्ट्रिय सहमति भत्काउन लागिराखेको छ’।

उनले आफ्नो दललाई प्रधानमन्त्री र राष्ट्रपति भन्दा पनि तीन दलबीचको एकता चाहिएको बताएका छन् । उनले तीन दलको एकतालाई प्रगाढ बनाएर तीन वर्षभित्र स्थानीय निर्वाचन, प्रादेशिक निर्वाचन र व्यवस्थापिकाको निर्वाचन गर्नुपर्ने बताएका छन् । यतिका लागि मात्र नभई तीन दलको एकता जारी भएको संविधान कार्यान्वयन गराउनका लागि पनि आवश्यक पर्ने बताए ।

थारु र मधेसीले उठाएका जायज मागहरुलाई संविधान संशोधनमार्फत् चाँडो सम्बोधन गरिनुपर्नेमा प्रचण्डले जोड दिए ।


  •  
  •  
  •