टी– क्रिकेट श्रृङ्खलामा नेपालले हङकङलाई हरायो

93
  •  
  •  
  •  

काठमाडौं । टी– क्रिकेट श्रृङ्खलामा नेपालले हङकङलाई हराएको छ ।

ओमानमा हङकङले दिएको १ सय २६ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि विनोद भण्डारीले अर्धशतक बनाए । उनले ४ चौका र ३ छक्काको मद्दतमा ४८ बलमा ५८ रन बनाएका हुन् ।

यसअघि नेपालले सुरुवात भने राम्रो गर्न सकेन । कप्तान पारस खड्का पहिलो बलमा नै आउट भएका थिए । त्यसपछि तेस्रो ओभरमा पवन सर्राफ व्यक्तिगत १० रनमा आउट भए । छैठौँ ओभरमा २७ रन बनाएको अवस्थामा नेपालका दिपेन्द्रसिंह ऐरी ६ रन बनाएर र सातौँ ओभरमा रोहित कुमार पौडेल आउट भएपछि इनिङ संकटमा परेको थियो ।

तर छैठौँ ब्याट्सम्यानका रुपमा आएका विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जित दिलाए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । हङकङकलाई मध्यम स्कोरमा समेट्न नेपालका करण केसीले ४ र अविनास बोहराले १ विकेट लिए ।

नेपालले सोमबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।


  •  
  •  
  •