ठूलो परिमाणको गाँजासहित दुईजना पक्राउ

342
  •  
  •  
  •  

मकवानपुर, २१ चैत(ओएनएस) : मकवानपुरबाट प्रहरीले ठूलो परिमाणको गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।
२ सय १२ किलोग्राम गाँजा, गाँजा बोक्न प्रयोग गरिएको पिकअप भ्यानसहित दुईजनालाई पक्राउ गरेको हो ।

बिहीबार बिहान प्रहरीले पत्रकार समेलन गरी बरामद गरिएको गाँजा, गाडी र पक्राउ परेकालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा गाडीका चालक महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ११ बस्ने ३६ वर्षीय रामजस यादव र सोही ठाउँका १९ वर्षीय उज्वल गुर्मछाने मगर रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ तीनताप्केबाट गाँजा, ना ३ च ३७९६ नम्बरको पिकअप भ्यानसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिङले जानकारी गराएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वको टोलीले सुराकीका आधारमा मनहरीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको पिकअप भ्यानलाई रोकेर जाँच गर्ने क्रममा गाँजा फेला पारेको हो ।

गाडीको पछाडीको ढालामा त्रिपाल राखेर त्रिपालभित्र प्लाष्टिकमा बेरेको अवस्थामा गाँजा राखिएको थियो । पक्राउ परेका दुवैजनालाई प्रहरीले लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अदालतमा मुद्दा दायर गरेको छ ।


  •  
  •  
  •