एजेन्सी । गाजाको एक अस्पतालमा भएको रकेट आक्रमणमा परी कम्तिमा ५ सयजनाको मृत्यु भएको दावी गरिएको छ।
गाजाको स्वास्थ्य विभागका अनुसार अल अहली अरब अस्पतालमा भएको रकेट आक्रमणमा परी ५ सयजनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार अस्पतालमा सैंयौंको सङ्ख्यामा बिरामी, घाइते र घरबारबिहीन बनेकाहरू अस्पतालमा रहेको बेला आक्रमण भएको गाजाको स्वास्थ्य विभागले बताएको छ।
स्थानीयका अनुसार हमास–इजरायल आक्रमणबाट बच्नका लागि मानिसहरू अस्पतालमा शरण लिन पुगेका थिए। अस्पतालका एकजना चिकित्सकका अनुसार झन्डै ४ हजार मानिसहरू शरणका लागि अस्पतालमा थिए।
उनले आक्रमण पछि अस्पतालको ८० प्रतिशत सेवा प्रभावित बनेको बताए। आक्रमण पछि विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हनोम घेब्रीयससले दुःख व्यक्त गर्दै घटनाको निन्दा गरेका छन्।
यसैबीच, प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले भएको आक्रमण पछि तीन दिनको शोकको घोषणा गरेका छन्। यता इजरायली सेनाले भने आक्रमण आफूहरूले नगरेको दावी गरेको छ।