इजरायलद्वारा गाजामा एपी र अलजजिराको कार्यालय रहेको १५ तले भवन ध्वस्त

74
  •  
  •  
  •  

एजेन्सी । इजरायलले गाजामा रहेको १५ तले भवनलाई निशाना बनाएर हवाई आक्रमण गरेको छ। अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एप) र कतारी टेलिभिजन च्यानल अलजजिराको कार्यालय रहेको उक्त भवनमा किन आक्रमण गरिएको हो पुष्टि भइसकेको छैन।

इजरायली सेनाले उक्त भवनमा हमासको पनि कार्यालय रहेकाले आक्रमण गरेको जनाएको छ। तर एपी र अलजजिराका पत्रकारहरूले त्यहाँ हमास समूहको कुनै कार्यालय नभएको दाबी गरेका छन्।

आक्रमण हुनभन्दा पहिला नै भवन छोड्न चेतावनी आएकाले उक्त भवनमा रहेका पत्रकारहरू सुरक्षित रहेको बताइएको छ। अलजजिरा टेलिभिजनले उक्त भवन ढल्दै गरेको लाइभ भिडिओ प्रसारण गरेको थियो।

यसैबीच आइतबार सबेरै इजरायली सेनाले हमास प्रमुखका घरमा आक्रमण गरेको छ। सन् २०१७ देखि हमासको राजनीतिक र सैन्य विभाग प्रमुख रहेका येहा अल सिनवारको घरमा आक्रमण गरिएको हो।

इजरायलको आक्रमणमा परी अहिलेसम्म गाजामा १ सय ४९ जनाले ज्यान गुमाएका छन्। तीमध्ये ४१ जना बालबालिका रहेको बताइएको छ। इजरायलले आफ्नोतिर दुई बालबालिकासहित १० जनाको मृत्यु भएको जनाएको छ।


  •  
  •  
  •