कलाकारको गाईजात्रे व्यङ्ग्यमा भारतीय प्रधानमन्त्री मोदी सम्म

293
  •  
  •  
  •  

काठमाडौं, २६ साउन (ओएनएस) : गाईजात्राको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष गाईजात्रे महोत्सव कार्यक्रममा हाँस्य कलाकारहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र धमलामाथि हमला गरेका छन् ।

श्रीकृष्ण श्रेष्ठको दुखद निधनप्रति मौन धारण व्यक्त गरेर शुरु गरिएको कार्यक्रममा सवै हाँस्यकलाकारहरुले श्रीकृष्णका परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरेका छन् । कलाकारहरुले श्रीकृष्णको नेपाली सिने जगतमा सँधै अभाव खड्किरहने धाराणा समेत राखेका थिए ।

कार्यक्रममा कलाकारहरुले विशेष रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको बारेमा हाँस्यव्यङ्ग्यका लागि बढी समय खर्चिएका थिए । उनीहरुले श्रीकृष्ण नेपाली चलचित्रका सदावहार नायक अत्यन्तै मिलनसारका रुपमा स्थापित भएको बताउँदै उनको सम्झना सदैव आफूहरुको साथमा रहने बताएका छन् ।

कार्यक्रममा कृष्ण मुरारी गौतम (चट्याङ मास्टर)ले व्यङ्ग्यात्मक कविता वाचन गरेर आफ्नो प्रस्तुती शुरु गरेका थिए । चट्याङ मास्टरले नेताहरुलाई जिम्मेवार बनाउनका लागि आफूले यस्तो कविता वाचन गरेको बताएका थिए । बरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलले यस वर्षको गाईजात्रामा आफूहरुले राजनीतिक व्यङ्य भन्दा पनि संविधान समयमै बनाउन विशेष पहल गरेको बताएका छन् । गजुरेलले नेपाल भ्रमणमा आएका वेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा दिएको अभिव्यक्तीकोे बारेमा पनि क्यारिकेचर गरेका थिए । गजुरेलले चर्चाको शिखरमा सँधै रहने ऋषि धमला मोदी भ्रमणका समयमा पनि चर्चामा आएको बताए ।

उनले भने–मोदीले संसदमा नै संविधान लेख्न ऋषिको जस्तो मन हुनुपर्ने बताएका थिए । त्यसैले ऋषिजी मोदीको भ्रमणमा पनि चर्चामा रहनुभयो । तर ऋषि धमलाजी दाह«ी नभएको ऋषि हो । त्यस्तै दिपकराज गिरीले रिपोर्टर्स क्लब नेपालले सवै कलाकारहरुलाई एउटै मञ्चमा भेला गराएर कार्यक्रम राखेकोमा धन्यवाद दिँदै ऋषि धमलाको सक्रियाताबाट सवैले पाठ सिक्नुपर्ने बताए । गिरीले नेपाली चलचित्र जगतले एउटा अत्यन्तै मिलनसार कलाकारलाई गुमाएकोमा शोक व्यक्त गर्दै श्रीकृष्णको सम्झना सदैव आफूहरुको ढुकढुकीमा रहिरहने पनि बताए । सिताराम कट्टेल धुर्मुसले पनि बढी समय ऋषि धमलाको बारेमा नै क्यारिकेचर गरेर समय खर्चिएका थिए ।

उनले कहिले केपी ओलीको बारेमा क्यारिकेचर गरे त कहिले धमलाको । कट्टेलले गाईजात्रा राष्ट्रिय पर्वको रुपमा मनाउन रिपोर्टर्स क्लब नेपालले खेलेको भूमिकालाई पनि धन्यवाद दिए । कार्यक्रममा किरण केसीले पनि कविता वाचन गरेका थिए । कार्यक्रममा शिवहरी पौडेल, मनोज आचार्य, जितु नेपाल, दमन रुपाखेती, कुञ्जाना घिमिरे, श्रीकृष्ण सिंखडा लगायतको उपस्थिति रहेको थियो । उनीहरु सवैले आ–आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा उनीहरुले समाजमा भएको विकृती, विसँगती र नेपालका नेताहरुप्रति व्यँग्य गरेका छन् ।


  •  
  •  
  •