काठमाडौं ३ बैशाख ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका पालुवा हात्तीमा यसअघि देखिएको क्षयरोग दुर्लभ एक सिंगे गैंडामा समेत देखिएको छ । क्षयरोग लागेका प्राय हात्तीको लामो समयको उपचारपछि रोग निको भइसकेका छन् । तर हाल आएर निकुञ्ज भित्रका गैंडामा उक्त रोग फेला परेपछि संरक्षणकर्मी चिन्तित बनेका छन् । पालुवा हात्तीलाई जस्तै यस्ता संक्रमण भएका गैंडाको उपचार सम्भव नभएकाले संरक्षणकर्मी बढी चिन्तित बनेका हुन् ।
निकुञ्जको पश्चिम सेक्टरमा रहेको एक गैंडामा क्षयरोग देखापरेको पशु चिकित्सकले पुष्टी गरका हुन् । पश्चिम सेक्टरको विनछिस भन्ने ठाउँमा मृत अवस्थामा फेला परेको गैंडाको फोक्सो परिक्षण गर्दा क्षयरोग लागेको पुष्टी भएको हो । २०७१ फागुन ५ गते मृत अवस्था उक्त क्षेत्रमा गैंडा फेला परेको थियो ।
मृत गैंडाको पोष्टमार्टमका क्रममा फोक्सो शंकास्पद संक्रमण देखिएपछि त्यसको नमुना परिक्षणका लागि जर्मन–नेपाल क्षयरोग परिक्षण केन्द्र काठमाडौंमा पठाइएको थियो । केन्द्रले गरेको थप परिक्षणमा फोक्सोमा क्षयरोगका जिवाणु भेटिएको हो ।
परिक्षण क्रममा फोक्सोमा सबैभन्दा बढी यस रोगका जिवाणु भएको पाइएको निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेले बताए । जिवाणुको जाती पत्ता लगाउन थप परिक्षणका लागि होक्काईडो युनिभर्सिटी जापानमा पठाइएको थियो । त्यहाँ गरिएको परिक्षणपछि उक्त जिवाणु ‘माइको ब्याक्टेरियम ओरीसिस’ रहेको पत्ता लागेको उनले बताए ।
उनका अनुसार १ महिना अघि मात्र उक्त तथ्य पुष्टी भएको थियो । गैंडामा पहिलोपटक क्षयरोग पुष्टी भएको उनले बताए । ‘यसअघि क्षयरोग देखिएको थिएन । क्षयरोग सरुवा हो । अरु गैडामा रोग सरेको छ/छैन अहिलेसम्म पत्ता लाग्न सकेको छैन,’ उनले भने, ‘रोगबारे अहिलेसम्म वन्यजन्तुमा अनुसन्धान गरिएको छैन । अनुसन्धान नभएसम्म अरुमा क्षयरोग हुन पनि सक्छ, नहुन पनि सक्छ । यसै भन्न सकिँदैन ।’
उक्त मृत गैंडामा देखिएको क्षयरोगको जिवाणु हाल पत्ता लागेका मध्ये नयाँ भएको उनले बताए । यसबारे बृहत अनुसन्धान हुनु जरुरी रहेको उनले औंल्याए । ‘अहिलेसम्म निकुञ्ज वन्यजन्तुका लागि विशेष गरेर बासस्थन व्यवस्थापन र चोरीशिकारी नियन्त्रण तिर मात्र केन्द्रित रहेको छ,’ उनले भने, ‘अब रोगहरुका बारे पनि थप अनुशन्धान जरुरी देखियो ।’
चोरी शिकारीबाट वन्यजन्तुलाई जोगाउने, साघुँरो हुँदै गएको बासस्थानलाई कसरी सुरक्षित पार्ने र दुर्लभ वन्यजन्तुको संख्या कसरी वृद्धी गर्ने भन्ने तिर मात्रै निकुञ्ज प्रशासन लागेको सरोकारवालाको भनाइ छ । वन्यजन्तुमा के रोग लागेको छ, कसरी पत्ता लगाउने, त्यसको नियन्त्रण कसरी गर्ने भन्ने तर्फ निकुञ्जको ध्यान केन्द्रित हुन नसकेको उनीहरुको आरोप छ । क्षयरोग स्वासप्रस्वासबाट सर्ने भएकाले निकुञ्जले उच्च सतर्कता अपनाउनु जरुरी रहेको जानकारको भनाइ छ ।
निकुञ्ज छेउमा रहेको बस्तीबाट आएको गाई भैंसी र निकुञ्ज भित्रका वन्यजन्तुचरण गर्ने अधिकांस स्थान एउटै रहेको जानकारले बताए । चरण क्षेत्रर र पानीको स्रोतबाट पनि क्षयरोग सर्ने गरेको पशु स्वास्थ्यकर्मीको भनाइ छ । मृतक गैंडामा गाई भैंसीबाट हो या चराचुरुङ्गीबाट कसरी क्षयरोग सरेको अहिलेसम्म पत्ता लाग्न नसकेको चिकित्सक गैरेले बताए । पत्ता लगाउने प्रयास गर्नु जरुरी रहेको उनले जनाए । कान्तिपुरबाट