पाँच वर्षमा १०७ गैँडा थपिए

99
  •  
  •  
  •  


चितवन । नेपालमा पाँच वर्षको अवधिमा गैँडाको संख्या बढेको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले नेपालमा गैँडाको संख्या ७५२ पुगेको जानकारी दिए ।
यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ गैँडा थिए ।
शुक्रबार सकिएको गणनाअनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा भेटिएका छन् । यो संख्या सन् २०१५ मा ६०५ मात्रै थियो । पर्सा राष्ट्रिय निकुञ्जबाहेक अन्य तीन राष्ट्रिय निकुञ्जमा गैँडाको संख्यामा वृद्धि भएको ओलीले बताए । चितवनपछि सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ गैँडा भेटिएको छ ।

त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ गैँडा भेटिएको छ । पर्सा राष्ट्रिय निकुञ्जमा भने तीन मात्रै गैँडा फेला परेको छ । अघिल्लो गणनामा पर्सामा चार वटा गैँडा पाइएको थियो । राष्ट्रिय गैँडा गणनाअनुसार नेपालमा १४६ भाले र १९८ पोथी भेटिएको उल्लेख गर्दै बाँकी ४०८ गैँडाको लिङ्ग पहिचान हुन सकेको छैन ।
पाँच सय २० वयस्क गैँडा भेटिँदा ९६ अर्धवयस्क र १३६ बच्चा गैँडा भेटिएको ओलीले जानकारी दिनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.दीपक खरालले चैत ९ गतेदेखि शुरु गरिएको गणना चैत २७ गते रातिमात्रै सकिएको बताए ।


  •  
  •  
  •