नगुडाउँ, नउडाउँ अब हिड्न थालौं !

348
  •  
  •  
  •  

Gagan Thapaगगन थापा । मंसिर १७ गते जिप दुर्घटनामा परि घाइते हुनु भएका संविधानसभा सदस्य हरिबहादुर खड्कालाई उपचारका लागि न्युरो अस्पताल ल्याएको थाहा पाएर अस्पताल पुग्दा त्यहाँ चिन्ता र तनाबको अवस्था थियो। एकातर्फ विरामीको अवस्थाले सबैलाई चिन्तित बनाएको थियो भने अर्कातर्फ समयमा किन उद्धार भएन भन्ने कुराले आक्रोशित बनाएको थियो। उपचार गरेर निक्लनु भएका डा. देवकोटालाई दौडेर गएर सोधें? उनले भने हामीले सक्दो प्रयास गरेका छौं तर वहाँको अवस्था ठिक छैन। हरि दाई अस्पतालको शैयाबाट मृत्युसंग पैंठेजोरी खेल्दै गर्दा हामीले गर्न सक्ने भनेको केवल प्रार्थना् मात्र थियो।

२१ गते राती खवर आयो हरि दाईले यो युद्ध जित्न सक्नु भएन, कठोर मृत्युले जित्यो। नेपाली कांग्रेसको राजनीतिमा अपार सम्भावना बोक्नु भएका हरि दाईको अल्पायुमा अप्रत्याशित रुपले भएको निधनमा शोकग्रस्त भएका हामीहरुको बिचमा दुईबटा कुरा भएरहेको थियो; पहिलो सरकारले गठन गरेको समितिले सत्य तथ्य बाहिर ल्याउनुपर्छ। घाईते हरि दाईलाई समय मै काठमाडौं किन ल्याउन सकिएन यसको जाँचबुझ हुनै पर्छ र जो दोषि देखिन्छ त्यो दण्डको भागिदार हुनुपर्छ, अर्को विषय थियो नेपालमा यति धेरै दुर्घटनाहरु किन भइरहेका छन्? कुरा भइरहेको थियो हाम्रो सडकको स्तरको बारेमा। हाम्रो सवारीसाधनको अवस्थाको बारेमा, चालकको लापरवाही र प्रशासनको गैर-जवाफदेहिताका बारेमा, कानुनमा भएका कमजोरीका बारेमा।

म सोचिरहेको थिँए; पछिल्ला केही महिनामा (श्रावण १) पछी मात्र भएका सवारी दुर्घटनामा १००० जनाले ज्यान गुमाउनु परेको छ भने ६००० भन्दा बढी घाइते भएका छन्। दुर्घटना भएका ति सबै जसो सडकमा मैले यात्रा गरिसकेको छु। बास्तबमै ति “सडक” भन्न लायक छैनन्। जुन सडक भन्न लायक छन्, त्यहाँ हामीलाई गाडी चलाउन आउँदैन। प्रत्येक पटक गन्तब्यमा पुगेपछी लाग्छ आज फेरी बाँचियो। सडक दुर्घटनाको विषयमा अहिले सबैको ध्यान तानिएको छ। संसदको समिती देखि सरकारका बिभिन्न निकायले सम्म अहिले यसलाई महत्व दिएर काम सुरु गरेकाले अब पक्कै केही होला। यस्तै सोचिरहेको थिँए; अब पक्कै केहि होला, यस्तै यस्तै सोचिरहेको थिए ।

२२ गते अन्त्यष्टीका लागि हरी दाईको पार्थिव शरिरलाई बागलुङ लगियो। म पनि हरि दाईको अन्तिम संस्कारमा २३ गते विहान पोखरा हुदै बागलुङ जाने निधो गरें। तर २२ गते राति ९ वजे फोन आयो। मेरो बहिनी निशा वस्नेतको स्कुटर लाई तिनकुनेमा ट्रकले ठक्कर दियो। टिचिङ हस्पिटलमा राखेको छ। म टिचिंग हस्पिटल पुगे। बाटोमा लागिरहेको थियो सामान्य दुर्घटना होला। ईमरजेन्सीमा पुगेर निशाको अवस्था देख्दा म केहि बोल्न नसक्ने भए। उसको शरिरको तल्लो भाग क्षत-विक्षत भएको थियो। शरिरका भित्री अंगहरु बाहिर बेडमा लडिरहेका थिए। डाक्टरको टोली प्रयास गरिरहेको थियो। हामी स्तव्ध थियौ।
“हामी अपरेसन गर्छौ। सायद चमत्कार हुन्छ कि! डाक्टरले यति भन्दा पनि आशा पलायो। रगत जाम्मा गर्न थाल्यौ। राती ११ बजे तिर अपरेसन सुरु भयो. करिब ६ घण्टामा अपरेसन सकियो। मलाई डाक्टरले आ ई सि यु मा बोलाउनु भयो। म डराइ-डराइ छिरे। भित्र निशा लाई सि पि आर (CPR) दिएको दृश्य देखेपछि म सम्हालिन सकिन। अब हामीसंग प्रार्थाना गरेर बस्ने बाहेकको अन्य विकल्प थिएन। बिहान १० बजे डाक्टरले मलाई फेरि भित्र बोलाउनु भयो र भन्नु भयो ” She is no more! उनी रहिनन्!

रुवाबासिको बिचमा सोचिरहेको थिए। यो के भइरहेको छ? उता हरि दाइको अन्त्येष्टी भइरहेको छ। आफन्तका मनमा प्रश्नै प्रश्न छन्। त्यो सडक राम्रो भएको भए? समयमा रेस्क्यू भएको भए? धौलागिरीमा ट्रमा सेन्टर भएको भए? यस्तै यस्तै। यता मेरो मामा माइजुको मनमा पनि सायद यस्तै प्रश्न छन् होला! स्कुटर नचलाएको भए? त्यो बाटोमा नहिँडेको भए? यस्तै-यस्तै। देशको विभिन्न भागमा भएका दुर्घटनामा आफ्नो प्रियजन गुमाउने प्रत्येकको मनमा यस्तै प्रश्नहरू मडारिरहेका होलान ।

अनि मैले सोचेँ; यो के हो? पहाडको बाटोमा दुर्घटना हुँदा हामी भन्छौ; सडक नै ठिक छैन त्यसैले दुर्घटना भएको हो। तर काठमाण्डौका सडक त ठिक छन् नि? बाहिर दुर्घटना हुँदा हामी भन्छौ; ड्राईभरले बदमासी गर्दा भएको हो। प्रहरी प्रशासनले नहेरेर हो। तर यहाँ त प्रहरी प्रशासनले हेर्दा पनि दुर्घटना भइहेको छ। मलाई लाग्न थाल्यो यहाँ दोष सडकको मात्र होईन। ड्राईभरको पनि होईन। प्रहरी वा प्रशासन को पनि होईन। दोष हाम्रो हो। सडकमा गाडी गुडाउने बेला हाम्रो भईसकेको रहेनछ। सडक र बिमानस्थल बनाएर उड्ने वा गुड्ने हैसियत त प्राप्त हुँदो रहेछ तर क्षमता भने आफैं निर्माण नहुँदो रहेछ। हामी सडकमा गाडी कुदाउन र खुल्ला आकासमा हवाइजहाज उडाउन “Qualified” भइसकेका रहेनछौं। त्यसैले,म भन्छु अब फेरी हिँडौं। सडकहरुमा गाडी कुदाउन नै प्रतिबन्ध लगाउँ। आकासमा हवाइजहाज उड्न प्रतिबन्ध लगाउँ। फेरी पुराना दिनमा फर्कौं जहाँ कहिले हवाइजहाज दुर्घटना हुँदैन थियो। सडक दुर्घटना हुँदैन थियो। होईन, गुड्ने हो, उड्ने हो भने केही बेर गुड्न र उड्न बाट अडिएर सोचौं, हामीले के गर्नुपर्ला जसले उड्न र गुड्न हामीलाई “Qualified” बनाउने छ त्यो गरौं अनिमात्र उडौं अनिमात्र गुडौं!!

अस्ती साझँ निशालाइ दागबत्ति दिदै गर्दा छेउको चित्तामा सिस्नेरीको दुर्घटनामा मृत्यु भएको नवबिबाहित जोडीको शरिर जलिरहेको थियो। जता ततै दुर्घटनामा परेकाहरु को लास जलिरहेको थियो। धुवाँ- धुवाँको बिचमा सोचि रहेको थिए। मेरो बहिनी निशा हाम्रो बिचमा नभए पनि यो संसार लाई त उनी हेरिरहनेछिन ती दुई जाना अपरिचित बालकको माध्य्मबाट जसले उनको शरिरबाट दान गरिएका नानिहरु पाउनेछन। तर यहि कामना गर्दछु, तिनका नानी पाउने दुई वच्चाको आँखा भने यस्ता दुर्घटनामा परेर कहिले बन्द नहोस्। कहिले बन्द नहोस!!

गगन थापाको फेसबुक पेजबाट 


  •  
  •  
  •