भक्तपुर, १३ असोज(ओएनएस) : नेपाली कांग्रेसका युवा नेता गगन थापाले संविधान निमार्णमा भारतले प्रत्यक्ष प्रभाव जमाउन नसकेपछि लगाएको अघोषित नाकाबन्दीले नेपाल भारत सम्बन्धमा चिसोपन देखिएको बताएका छन् ।
रफत सञ्चार क्लबद्वारा आयोजित साक्षत्कार कार्यक्रममा उनले मधेशमा भएको आन्दोलनलाई अघि सारेर सुरक्षाको अवस्था देखाउँदै जसरी अघोषित नाकाबन्दी गरेको छ त्यसले नेपाल भारतको सम्बन्धलाई दिर्घकालिन असर पारेको बताएका छन् ।
थापाले संविधान निमार्णको समयमा भारतले आफ्नो दुत पठाएर हस्तक्षेप गर्नेदेखि पछि देशको सार्वभौमिकताको रक्षाका लागि ९० प्रतिशतको सहमतिले संविधान जारी गरिएको र आफ्नो प्रभाव नदेखेपछि मधेश आन्दोलनको बहानामा भारत नाकाबन्दीसम्मको गतिविधिमा उत्रनु अन्तराष्ट्रिय मापदण्ड विपरित भएको बताए । उनले भने, ‘नेपाल जस्तो भुपरिवेष्ठित देशमा जसरी सुरक्षाको अवस्था भन्दै नाकाबन्दी गरेको छ यो गलत छ ।’
उनले नेपालभित्र उठेका समस्याको समाधान नेपालीले नै गर्ने भन्दै भ्रामक विषयहरू जनतामाझ लगेर मधेशलाई अन्धकारमा नराख्न र काठमाडौलाई दबाव दिएर मधेश आन्दोलनका नाममा नाकाबन्दी गर्न छाडेर तत्काल वार्तामा आउन आग्रह गरेका छन् । उनले भने, ‘संविधानमा केहि संसोधन गरी समस्या समाधान गर्न सकिन्छ । मधेशका नेताहरुले तत्काल आन्दोलन त्याग्नु पर्छ र यता संसोधनको प्रक्रिया जारी राख्नु पर्छ ।’
थापाले विगतका दिनमा नेपालका नेताहरुले भारतका नेताहरुसँग कोठे सम्बन्ध गाँस्दै आफ्नो लाभको लागि उपयोग गर्ने गरेता पनि त्यस्ता सम्बन्धले कुनै काम गर्न नसकेको स्पष्ट भईसकेकाले अबका दिनमा राष्ट्रिय हितलाई ध्यान दिएर स्वार्थ केन्द्रित सम्बन्ध त्याग्न राजनीतिक दलका नेताहरु अग्रसर बन्नु पर्नेमा जोड दिए ।
उनले नेपाल सरकारको योजना कति कम्जोर छ भन्ने विषय यो नाकाबन्दीले प्रष्ट परिसकेको भन्दै नेपाललाई परनिर्भर देशको रुपमा अगाडी लाने हो र दिर्घकालीन सोचलाई कार्यान्वयन गर्ने संकल्पका साथ अब एक जुट भएर आत्मनिर्भर भएर अगाडी बढ्ने हो भन्ने नीति निर्माताहरुले सोच्ने बेला आएको बताएका छन् ।
उत्तरतर्फको नाका खोल्ने विषयमा सरकारले पहल गरिरहेको र केहि दिनमै उत्तरतर्फको नाका खुल्ने बताउँदै उनले भने, ‘नेपाल आत्मनिर्भर बन्न नसके दक्षिण मात्र नभए उत्तर तर्फले समेत कुनै पनि बेला नाकाबन्दी गरे पाँच दिन पनि नेपाली बाँच्न नसक्ने अवस्था देखिएकाले दुवै छिमेकीसँग सुमधुर सम्बन्ध गाँस्दै आत्मनिर्भरता तर्फ अग्रसर बन्नु पर्नपर्छ ।’