द्वन्द्वकालको गम्भीर अपराधको वेवास्ता गर्न हुँदैन : गगन थापा

435
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रतिनिधि सभाको रिक्त सभामुख पदमा पार्टीले उम्मेदवारी नदिएकोप्रति असन्तुष्टि जनाएका छन्।
सांसदसमेत रहेका थापाले ट्वीट गर्दै द्वन्द्वकालको गम्भीर अपराधको वेवास्ता गर्न नहुने उल्लेख गरेका छन्।

‘शान्ति प्रकृया विशेष राजनीतिक परिस्थिति हो तर यसको अर्थ द्वन्द्वका गम्भीर अपराधको वेवास्ता र दोषीको उन्मुक्ति होइन,’ थापाले भनेका छन्, ‘नेकपा अध्यक्षको हलुका अभिव्यक्ति, सत्तापक्षको निर्णय र प्रतिपक्षको साथ निको देखिँदैन। विशिष्ट पदको आवरणमा न्यायिक प्रक्रियामा पूर्णविराम लगाउने प्रयत्न नहोस् ।’

सभामुख पदमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ।

सभामुख उम्मेदवारीका लागि मंगलबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय संसद सचिवालयले दिएको थियो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने तयारी गरे पनि संसदीय कार्यसमिति बैठकले सभामुख पद तटस्थ हुने भन्दै उम्मेदवारी नदिने निर्णय गरेको थियो।

सभामुखका एक्ला उम्मेदवार सापकोटाविरूद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्या आरोपमा मुद्दा छ।


  •  
  •  
  •