‘संघीयता चलाउन सुझबुझ चाहिन्छ’

354
  •  
  •  
  •  

चितवन, १० मंसिर(ओएनएस) । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संघीयता चलाउन सुझबुझ चाहिने भन्दै संघीयता नचले संविधान पनि सँगै जाने बताएका छन् ।

नेपाल महिला संघ चितवन शाखाले सोमबार आयोजना गरेको नेपाल प्रेस युनियन चितवन शाखाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा नेता थापाले सो कुरा बताएका हुन् ।

उनले कांग्रेस कमजोर हुँदा सिंगो राष्ट्रले मूल्य चुकाउनुपर्ने समेत बताए । चुनावमा हार्दैमा निराश हुनु नपर्ने भन्दै संगठन विस्तारमा लाग्नुपर्नेमा उनले जोड दिए ।

कांग्रेस कमजोर हुँदा लोकतन्त्र पनि कमजोर हुने उनको भनाइ छ ।  कांग्रेसले प्रतिपक्षमा रहेर संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ मुलुकलाई अगाडि बढाउने कुरामा ध्यान दिनुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, महिला संघ चितवनका अध्यक्ष पार्वती शाह लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा नेपाल प्रेस युनियनको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्य एवं पार्षद्हरुलाई सम्मान गरिएको थियो ।


  •  
  •  
  •