गगन थापालाई बम हान्ने रिहा

275
  •  
  •  
  •  

काठमाडौं,२२ पुस (ओएनएस): निर्वाचन प्रसार–प्रसारका क्रममा नेपाली कांग्रेसका नेता गगन थापालाई बम हान्ने तीनजना धरौटीमा रिहा भएका छन् ।

थापालाई बम हान्ने महेश नेपाली, विग्रेस लामा र रोशन विष्टलाई ६० हजार रुपैयाँका दरले धरौटी रकम लिएर प्रशासन कार्यालयले शुक्रबार रिहा गरेको हो । कार्यालयले दुई जनालाई भने पुर्पक्षका लागि थुनामा राखेको छ । रवि गोले र विचारमान तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

घटनामा संङलग्न अर्का एक जना राधी तामाङलाई भने नुवाकोटमा अर्को मुद्दा रहेकाले प्रहरीले नुवाकोटमा पठाईदिएको छ । उनीहरु सवैलाई प्रशासन कार्यालयले ज्यान मार्ने उद्योगसम्वन्धी मुद्दा लगाइएको थियो । घटना लगत्तै पक्राउ परेका मध्ये ६ जनाविरुद्ध तत्काल जिल्ला अदालत काठमाडौंमा विस्फोटक पदार्थको प्रयोग तथा ओसारपसार सम्बन्धी मुद्दा दायर भएको थियो । उनीहरुलाई अदालतले बुधबार दश हजार रुपैयाको दरले धरौटी लिएर रिहा गरेको थियो । अदालतले रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेर उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौले पनि दुई जना बाहेक सवैलाई रिहा गरेकोमा घटनाका पिडितहरुले असन्तुष्टि जनाएका छन् । मानिसको ज्यान समेत जान सक्नेगरी बम पड्काउनेले दश हजार रुपैयाँ तिर्दैमा छुटकारा पाउने कानूनी व्यवस्था व्यवहारिक र न्यायपुर्ण नभएको भन्दै असन्तुष्टि जनाएका हुन् । चुनावी प्रचार प्रसारका क्रममा थापालाई लक्षित गरी काठमाडौंको चपलीमा गत मंसिर १८ गते बम आक्रमण भएको थियो । आक्रमणबाट थापा सहित ११ जना घाईते भएका थिए ।


  •  
  •  
  •