यसरी हुँदै गढीमाईमा बलिको तयारी

408
  •  
  •  
  •  

काठमाडौं १२ मंसिर ।
गढीमाई मन्दिरदेखि पाँच सय मिटर पुर्वमा साढे दुई विघाको १० फिट अग्लो पक्की पर्खालसहितको बधशालामा झन्डै पाँच हजार दुधे राँगा छन् । र त्यसलाई मार हान्न मेला समितिबाट स्वीकृति पाएका चार सय तरबारधारीको उपस्थिति पनि त्यत्तिकै छ । शुक्रवार दिइने बलिका लागि श्रद्धालुहरुले भाकल गरी ल्याएका राँगा मेला समितिले व्यवस्थापन गरेको हो ।

सदियौंदेखिको धार्मिक परम्परा अनुसार यहाँ शुक्रवार हजारौं राँगालाई बलि दिइदैछ । गढीमाईका मुल पुजारी मंगल चौधरीको घरमा तान्त्रिक र वैदिक विधिद्वारा गढीमाईको पूजा भई गढीमाई छेउमा रहेको ब्रम्हस्थानमा एकाएक बत्ती बलेपछि नरबलि दिने परम्पराअनुसार गढीमाईका धामी दुखा कछडियाले आफ्नो शरीरको कान, औंलासहित पाँच ठाउँको पाँचै थोपा रगत गढीमाईको नाममा चढाएपछि पञ्च बलि दिने चलन छ । चलनअनुसार गढीमाईलाई सुरुमा सेतो जंगली मुसा, परेवा, कुखुरा, हाँस, सँुगुरको पञ्च बलि दिएर झक्तजनले बलिका लागि लिएर आएका पशु बलि आरम्भ हुने परम्परा छ । ‘पुजा र बलिको सबै तयारी पुरा भएको छ,’ पुजापछि बलि सुरु हुन्छ,’ मुल पुजारी मंगल चौधरीले भने ।

पुजाको तयारीसगैँ भइरहेको बलि तयारीका लागि भाकलका राँगा सुरिएर छप्काउन आउने नरही ७ का ४४ वर्षीय योगेन्द्र पटेल यो साल पनि तरबार भिरेर गढीमाईको बधशाला आएको देखिए । ज्यालादारीमा मार हान्न गढीमाई मेला समितिको तर्फबाट नियुक्त उनीझैं चार सय तरबारधारीहरु यो परिसरमा मार हान्न तम्त्यार भइआइसकेका छन् । ड्युटी सुरु हुनेछ, शुक्रबार बिहान पाँच बजे ।

‘भाकलको राँगा छप्काउन तयार भएर आउन समितिले विहिवार राति बोलाएको छ,’ आदेश हुन वित्तिकै मार हान्छौं,’ पटेलले भने । पटेलका छिमेकी लखन साह मार हान्नकै लागि पुगेका छन् । ‘बाबु बाजेले नै मार हान्दै आएका हुन् । यसपाला मार हान्न आफु आएको छु,’ तरबार भिरेर आएका उनले.सुनाए ।

बलिका लागि भारत र नेपालका हजारौं श्रद्धालुहरुद्वारा गढीमाईको भाकलको राँगा मेला स्थल आइपुगेको छ । बलिपछि राँगाको टाउको गाड्न बधशालाको दक्षिणपट्टी ब्रम्हस्थान छेउमा पहिले झैं करिब १० फिट गहिरो र एक सय फिट लामो खाल्डो खनिएको छ । गढीमाईको दर्शनसहित बलि दिएपछि आफुले चिताएको मनोकांक्षा पुरा हुने विश्वास छ । नेपाललगायत भारतको कोलकत्ता, विहार, उत्तर र मध्य प्रदेश, युपी, बंगाल, पञ्जाब, हरियाणा राज्यबाट आएका भक्तजनहरु राँगा, बोका, हाँस, कुखुरा र परेवा जस्ता पशुपंक्षीको बलि दिन आउने गरेका छन् ।

विगतमा अव्यवस्थित रुपमा मेलामा दिईदै आएको पशुबलिले निस्किने फोहरमैला र सिनोका कारण दर्शनार्थी र स्थानीय बासिन्दाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेपछि मेला समितिले यसबर्ष १ करोड ६० लाखमा ठेक्का बन्दोबस्त गरिसकेको छ । बलि दिएका राँगा लैजान ठेकेदारले बधशाला स्थलमा ट्रक तयारीमा राखेका छन् । आन्द्रा भुँडी गाड्न बधशालाको उत्तरपट्टी खाडल खनिएको छ । आन्द्रा भुडि गाड्न एक ट्रक नुन बधशालामा राखिएको छ ।

यसैबीच केही पशुअधिकारकर्मीहरुले पशुबलिको विरोधका कार्यक्रम राखेका छन् । पशु अधिकारकर्मी प्रमदा शाहले हिजो गढीमाईमा पशुहरुको बाँच्न पाउने अधिकार रक्षा गर्न माग गर्दै लाखबत्ती बालेकी छन् । ‘हामी अहिले थोरै संख्यामा छौं, तरहाम्रो मुद्दा कमजोर हुँदैन,’ उनले भनिन्, ‘आफ्नो भाकल वा कुनै पनि इच्छाका लागि अरु जनावरको बलि दिने संस्कार हिन्दु धर्मभित्र पर्दैन । गढीमाईका नाममा जे भइरहेको छ, उचित होइन ।’
कान्तिपुरबाट


  •  
  •  
  •