चीनसँग इन्धन खरिद सम्झौता हुन्छ : आपूर्तिमन्त्री

226
  •  
  •  
  •  

काठमाडौँ, ६ चैत(ओएनएस) : आपूर्ति मन्त्री गणेशमान पुनले चीनसँग इन्धन खरिदको सम्झौता हुने निश्चित भइसकेको दावी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार गरेको साक्षात्कार कार्यक्रममा उनले इन्धन आपूर्ति गर्ने विषयमा एमओयू भईसकेको भन्दै दुई देशका आयल निगमबीच पनि धेरै कुरा भइसकेकोले सम्झौता हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले प्रधानमन्त्रीको चीन भ्रमणका बेला नै सम्झौता हुन सक्ने बताए । उनले भने, ‘जति बेला पनि हुन सक्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणकै बेला सम्झौता हुन सक्छ नभए त्यसपछि तुरुन्तै हुन्छ ।’

उनले प्रधानमन्त्रीसँग आफू भ्रमणमा जाँदा वा नजाँदा सम्झौतालाई कुनै फरक नपर्ने दावी गरे । उनले आफु प्रधानमन्त्रीको भ्रमण टोलीमा परेको नपरेको विषयमा प्रधानमन्त्रीलाई सोध्न आग्रह गरे ।

उनले चीनबाट इन्धन ल्याउँदा अन्तर्राष्ट्रिय मुल्यअनुसार नै पर्ने भन्दै स्थानीय कर र ढुवानीमा अनुदान लिने गरी ब्यवस्था हुने जानकारी दिए ।

प्रधानमन्त्रीको चीन भ्रमणमा पारवहन, स्वतन्त्र ब्यापार, रोड कनेक्टीभटी र ईन्धन लगायतका सम्झौता हुने भनको भनाइ थियो ।

मन्त्री पुनले केही समयमै इन्धन आपूर्ति सहज हुने दावी पनि गरे । ‘अहिले महिनमा ८९ हजार ६ सय किलोलिटर डिजेल आएको छ । हामीले १५० किलोलिटर माग गरेका हौं ।’ मन्त्री पुनले भने-‘ग्यास पनि ३३ हजार मेटि्रक टन माग गरेकोमा २१ हजार मात्रै आयो । अब सबै उपाय लगााएर एक दुई महिनामा आपूर्ति सहज बनाउँछौ ।’

मन्त्रीपुनले अहिले मुलुकमा पेट्रोलियम पदार्थको भण्डारण ७१ हजार किलोलिटरको मात्र रहेको र यसले १५ दिनकोलागि मात्रै पुग्ने बताए ।
नयाँ निर्माण र पुरानाको क्षमता विस्तार गरेर ९० दिनको भण्डारणको ब्यवस्था गर्न लागेको जानकारी दिए ।

यसका लागि पाँचखाल, बट्टार र खैरेनीटरामा जग्गा प्राप्तीको प्रतिवेदन आईसकेको, सबै प्रदेशमा भण्डारनको ब्यवस्था गर्न अध्ययन भईसकेको, मध्य पहाडी क्षेत्रमा भण्डारण गर्न अध्ययन टोली बनाउने तयारी भईरहेको र ग्यासको स्टोरेज बनाउन पाँचखालमा प्रक्रिया सुरु भईसकेको उनले जानकारी दिए ।


  •  
  •  
  •