स्ववियु चुनाव लड्न उमेरको नयाँ मापदण्ड

270
  •  
  •  
  •  

काठमाडौं २७ चैत ।
त्रिभुवन विश्वविद्यालयमा फागुनभरि स्वतन्त्र विद्यार्थी युनियनको चुनावले माहोल पूरै राजनीतिक हुने गथ्र्यो । चैत नसकिँदै नयाँ वर्षको अवसरमा विद्यार्थी संगठनहरूका वनभोज र भेलाहरू हुन्थे । अहिले केन्द्रीय क्याम्पस कीर्तिपुरमा कक्षा कोठादेखि खेलमैदानसम्मै खाली छ ।

केन्द्रीय क्याम्पसको चौर वरिपरि लहरै विद्यार्थी संगठनहरूका सूचना पाटी छन् । तर कुनै सूचना टाँसिएका छैनन् । क्याम्पस हातामा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल -क्रान्तिकारी), मधेसी विद्यार्थी, विद्यार्थी फोरम, रामेछाप त्रिवि विद्यार्थी समाज, किरात राई विद्यार्थी संघ, अनेरास्ववियु -छैटौं), बैतडी विद्यार्थी समाज, काभ्रेली विद्यार्थी समाज, त्रिवि तमू परिवार, लिम्बू विद्यार्थी मञ्च, मगर विद्यार्थी संघ, पर्वत विद्यार्थी समाज, इलामेली विद्यार्थी मञ्चलगायतका खिया लागेका साइन बोर्ड छन् ।

वर्ष दिनअघि सम्म हरेक दिनजसो कुनै न कुनै विद्यार्थी संगठनले छलफल, अन्तक्रिर्या, भाषणबाजी गरिरहन्थे । तन्नेरीहरूको यो र त्यो समूहबीच बेलाबखत राजनीतिक रंगको झडप हुने गथ्र्यो । तर अहिले सुनसान छ । मूलढोकाका वरपरका चिया पसलहरूमा भीड लाग्न छाडेको छ । पुस्तक पसलका गेसपेपर, गाइडहरू बिक्न छाडेका छन् । केन्द्रीय पुस्तकालयमा हुल घटेको छ । छात्रावासमा चाप घटेको छ ।

त्रिविले गत वर्षबाट केन्द्रीय विभाग तथा क्याम्पसमा सेमेस्टर प्रणाली लागू गरेपछि विद्यार्थी गतिविधि ह्वात्तै घटेको हो । सतहमा देखिएको प्रमुख कारण यही भए पनि वास्तविक कारण भने त्रिविका ६० आंगिक क्याम्पसहरूमा विद्यार्थीको आकर्षण घटो छ । राजनीतिक गतिविधि बढी र पठनपाठन कम हुनाले यसो भएको हो । पढ्नकै निम्ति निजी क्याम्पस र कलेजहरूमा जाने गरेका छन् ।

विश्वविद्यालयमा विद्यार्थीको हक, हित, अधिकारबारेमा आवाज उठाउने निकाय हो- स्वतन्त्र विद्यार्थी युनियन । स्ववियु विद्यार्थीहरूमाझ निर्वाचनका आधारमा निष्पक्ष नेतृत्व चयन गरिन्छ । तर त्रिभुवन विश्वविद्यालयको स्ववियु इतिहासमा राजनीतिक दलनिकट विद्यार्थी संगठनहरूको नेतृत्व रहने गरेको छ ।

झन्डै सात वर्षदेखि त्रिविमा स्ववियु चुनाव हुनसकेको छैन । लामो समयदेखि स्ववियु निर्वाचन हुन नसकेपछि विद्यार्थी गतिविधि शून्य बनेको हो । ‘सर्वोच्च अदालतको आदेशपछि त्रिविले स्ववियुका सबै क्रियाकलाप नियन्त्रणमा लिएको छ,’ नेविसंघका पूर्वउपाध्यक्ष नैनसिंह महरले भने, ‘त्यतिमात्र होइन, त्रिविले स्ववियुको भौतिक संरचनासमेत आफ्नो मातहतमा ल्याएको छ । यसले निरंकुशतामा बल पुर्‍याएको हाम्रो ठम्याइ छ ।’

विद्यार्थी संगठनहरूबीच सानोतिनो विषयमा हुने छिनाझपटी, त्रिवि पदाधिकारीहरूको अनिच्छा र सत्तासीन राजनीतिक दलहरूको ठाडो हस्तक्षेपले स्ववियु चुनाव हुन नसकेको विद्यार्थी नेताहरूको भनाइ छ । त्यसैगरी जति धेरै दल उति धेरै विद्यार्थी संगठनमात्र नभई एकै दलनिकटका विद्यार्थी संगठनबीच गुट, उपगुट हुनु स्ववियुको महत्त्वलाई निस्तेज पार्दै गएको हो ।

गत वर्ष परिमार्जित स्ववियु नियमावलीअनुसार ०७१ चैतभित्र स्ववियु चुनाव भएमा उम्मेदवारको उमेर हद लाग्ने छैन । जसअनुसार २८ वर्ष माथिकाले पनि स्ववियुको कुनै पनि पदमा उम्मेदवारी दिन पाउँछन् । तर, चैत सकिन लाग्दासम्म त्रिवि र विद्यार्थी संगठनहरूबीच स्ववियु चुनाव हुने कुनै संकेत मिलेको छैन । ‘त्रिविले गत वर्षको क्यालेन्डरअनुसार वैशाख २० गते स्ववियु चुनाव गराउने थियो,’ त्रिवि विद्यार्थी तथा खेलकुद महाशाखा प्रमुख गंगाबहादुर मगरले भने, ‘अब चैत मसान्तपछि मात्र स्ववियु चुनावको प्रक्रिया अघि बढ्न सक्छ । तर अब उम्मेदवारी दिने विद्यार्थीको उमेर हद लागू हुनेछ ।’

विद्यार्थी संगठनहरू स्ववियु चुनाव नहुनुमा एकले अर्कोलाई दोष दिने गर्छन् । एमालेनिकट अनेरास्ववियुबाहेक अन्य प्रमुख दलका विद्यार्थी संगठनहरूको सम्मेलन तथा नेतृत्व चयन हुन सकेको छैन । पार्टी नेतृत्वको निगाहमा संगठन सुचारु छ । ‘हाम्रो संगठन स्ववियु चुनावको पक्षमा छ,’ अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ल भन्छन्, ‘तर चुनाव हुन नदिने संगठनले विद्यार्थी आन्दोलनको मर्मलाई बिथोलेका छन् । अर्कोतिर त्रिविका पदाधिकारी इमानदार भएनन् ।’ त्रिविले स्ववियु चुनाव अविलम्ब घोषणा गर्नुपर्ने उनको धारणा छ ।

नेविसंघका पूर्वउपाध्यक्ष नैनसिंह महर माओवादीनिकट विद्यार्थी संगठनहरूका कारण स्ववियु चुनाव हुन नसकेको आक्षेप लगाउँछन् । ‘माओवादीले नचाहेकाले स्ववियु चुनाव हुन नसकेको हो,’ बहानाबाजी भइरहेको उल्लेख गर्दै उनले भने, ‘जसका कारण आज स्ववियुको संस्थागत वैधानिकता गुमेको छ ।’ स्ववियुलाई सुचारु राख्दा नयाँ पुस्ताको क्षमता अभिवृद्धि हुने भए पनि पार्टीका अगुवा नेताहरू ‘भाग खोसिने भयले’ स्ववियु ध्वस्त भएको महर बताउँछन् ।
कान्तिपुर दैनिकबाट


  •  
  •  
  •