प्रजातन्त्र दिवसमा दुई सय बढी प्रजातन्त्र सेनानी सम्मानीत हुदै

193
  •  
  •  
  •  

काठमाडौं, २ फागुन (ओएनएस) :  प्रजातन्त्र प्राप्तीको आन्दोलनमा सहभागि भएका दुई सय भन्दा बढी प्रजातन्त्र सेनानीहरु सम्मानित हुने भएका छन् । नेपाल प्रजातन्त्र सेनानी संघले आगामी ७ गते प्रजातन्त्र दिवसका उपलक्ष्यमा २००७ सालदेखि २०१७ सम्मको प्रजातन्त्र प्राप्ति र त्यसपछिका सङ्घर्षहरुमा अनवरत समर्पित भएका ७५ बर्ष भन्दा माथिका प्रजातन्त्रका सेनानीहरुलाई सम्मान गर्ने भएको हो ।

संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाबाट उनीहरुलाई सम्मान प्रदान गर्न लागेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका प्रवक्ता बालकृष्ण दाहालले अहिलेसम्म प्राप्त विवरण अनुसार १०१ बर्षका जेष्ठ सेनानी भूमिश्वर सापकोटा (नवलपरासी) र हेम प्रसाद तिमिल्सिना (गोरखा), प्रधानमन्त्री सुशील कोइराला, रामहरि जोशी, कुलबहादुर गुरुङ्ग, गिरिजा विनोद उपाध्याय, मैयादेवी श्रेष्ठ, ऐश्वर्यलाल प्रधानाङ्ग, नुतन थपलिया, घोइरो कामी, बुद्धिकुमार बतास र गोविन्द प्रसाद शर्मा कँडेल लगायतका २०० भन्दा बढि सेनानीहरुलाई सम्मान गर्ने जानकारी दिए । उनीहरुलाई कांग्रेस मुख्यालयमा सात गते दिउसो एक बजे सम्मान गर्ने कार्याक्रम तय भएको जानकारी संघले दिएको हो । संघले प्रधानमन्त्री सुशील कोइरालाई पनि सेनानी सम्मानको कार्यक्रम राखेको छ ।

सम्मेलनमा सभापति टंक शर्मा कडेलले प्रजातन्त्र स्थापनाका लागि काम गर्नेहरुको जानकारी आम मानसलाई दिन र उनीहरुलाई सम्मानित महसुस गराउन गर्ने कार्यक्रम राखेको जानकारी दिए । उनले प्रजातन्त्र सेनानीलाई मासिक भत्ताको व्यस्था गर्न तथा राज्यका तर्फबाट आयोग बनाएर सबै आन्दोलनमा सहभागि सेनानीहरुको पहिचान गर्त र राज्यकै तर्फबाट सम्मान गर्न माग गरे ।

पत्रकार सम्मेलनमा फाल्गुन ८ गते प्रजातन्त्र सेनानीहरुलाई काठमाडौँ उपत्यकाका पशुपतिनाथ, बौद्धनाथ, वीपी संग्राहलय, सुन्दरीजल, भक्तपुर दरवार क्षेत्र र पाटन दरवार क्षेत्रको भ्रमण गराइने जानकारी दिइयो । उनीहरुलाई नेपाल स्वास्थ्यकर्मी संघले फागुन ७ र ८ गतेका आकस्मिक स्वास्थ्य उपचार गराउनका लागि विशेष स्वास्थ्य उपचार सेवाको व्यवस्था मिलाउनुका साथै एम्बुलेन्स सेवाको समेत व्यवस्था मिलाएको समेत जानकारी दिइयो ।

सम्मेलनमा प्रजातन्त्रका सेनानीहरुका सम्मानमा फागुन ८ गते बिहान वीपी संग्राहलय सुन्दरीजलले र साँझ प्रधानमन्त्रीले रात्रिभोजको प्रबन्ध गरिएको छ ।


  •  
  •  
  •