काठमाडौँ, २४ चैत(ओएनएस) : फ्रान्सका राजदूत एभेस कारमोनले फ्रान्सले नयाँ संविधानलाई पूर्णरूपले समर्थन गरेको बताएका छन् ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा राजदूत एभेसले नेपालको संविधानलाई समर्थन गरेको जनाउँदै नेपालको संविधान फ्रान्सको भन्दा प्रगतिशील भएको बताएका छन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले इयु र भारतले निकालेको संयुक्त विज्ञप्तिबारे फ्रान्सको धारणा माग्दा उनले यस्तो जवाफ दिएका हुन् ।
उनले फ्रान्सेली लगानीकर्ता कम्पनीहरु नेपालमा लगानीका लागि इच्छुक रहेको बताउँदै नेपालले लगानीको वाताबरण बनाउनुपर्नेमा जोड दिए ।
भेटवार्तामा प्रचण्डले नेपाल भिन्न परिस्थितिबाट गुज्रिएको बताउँदै देशका समस्याहरु विगतदेखि नै नेपाली जनता आफैंले समाधान गरिहेको बताएका थिए । उनले शान्ति प्रक्रिया, सेना समायोजन र संविधानसभाबाट नयाँ संविधान नेपाली जनता आफैंले जारी गरेको बताए ।
उनले संविधानमा उत्पीडित जाति, समुदाय, लिङ्ग र क्षेत्रलाई समेटिएको बताउँदै अझै धेरै विषयहरु संविधानको कार्यान्वयनका क्रममा सुधारिँदै लैजाने बताएका थिए ।
प्रचण्डले नेपाल नवनिर्माणमा अघि बढिरहेकाले लगानी गर्ने कम्पनीहरुको खाँचो रहेको बताएका उनको निजी सचिवालयले जानकारी दिएको छ ।