उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक नरहेको सत्तारुढ दलको ठहर

69
  •  
  •  
  •  

काठमाडौं,९ भदौ (ओएनएस) : सत्तारुढ दलहरुले एमाओवादीले माग गरेको उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक नभएको ठहर गरेका छन् । एमाओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन नगरे कुनै पनि वार्तामा नबस्ने घोषणा गरेको भोली पल्ट चार सत्तारुढ दलको बैठकले राजनीतिक संयन्त्र आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।

संविधानसभा बाहिर संयन्त्र बन्दा त्यसले संविधानसभाको कामलाई प्रभावित पार्नसक्ने भन्दै संयन्त्र आवश्यक नरहेको ठहर बैठकले गरेको नेकपा मालेका महासचिव सिपी मैनालीले बताए । एमाओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्रगठनमा अडान लिएपछि आफ्नो धारणा बनाउन सत्तारुढ चार दलको बैठक सोमवार प्रधानमन्त्री निवासमा बसकेको थियो ।

बैठकले संविधानका विवादित विषयमा साझा धारणा बनाउने सहमति गरेको छ।   सत्तारुढ चार राजनीतिक दल नेपाली कांग्रेस,एमाले,राप्रपा र नेकपा मालेको बैठकले संविधान निर्माणका क्रममा देखिएका विवादित विषयमा सकभर एउटै धारणा बनाउने सहमति गरेका हुन्।

चार दलका शीर्ष नेता सम्मिलित बैठकले शासकीय स्वरुप, संघीयता जस्ता विषयमा एउटै धारणा बनाउने सहमति गरेको मैनालीले जानकारी दिए ।
मैनालीका अनुसार तोकिएको समयमै संविधान जारी गर्न संविधानसभामा रहेका अरु दलसंग छलफल गर्दै अगाडि बढ्ने विषयमा समेत छलफल भएको छ ।

बैठकमा नेकपा माले र राप्रपाका नेताहरुले सरकार बनेपछि पहिलो पटक छलफल आयोजना गरिएको भन्दै प्रधानमन्त्रीसंग असन्तुष्टी जनाएका छन । यस्ता बैठक बेला बेलामा गर्नुपर्ने उनीहरुको सुझाव छ ।


  •  
  •  
  •