काठमाडौ, २० पुस(ओएनएस) : संविधानका अन्तरवस्तुमा सहमति खोज्न प्रमुख दलका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ ।
सिंहदबारमा आज अपरान्ह ४ बजे बैठक बस्ने बैठकमा पनि कांग्रेस एमाले, एकीकृत माओवादी र मधेसीदलका नेता सहभागी हुने भएका छन् । संविधान जारी गर्ने दिन नजिकिदै गएकाले उनीहरुले छलफललाई निरन्तरता दिइरहेका छन् । नेताहरु केही दिनदेखि द्धीपक्षीय, त्रिपक्षीय छलफलमा जुटिरहेका छन् ।
हिजो साँझ पनि प्रमुख चार राजनीतिक पक्षले संविधान निर्माणमा पछिल्लो पटक भएका छलफलका बिषयलाई सार्वजनिक नगर्ने सहमति गरेका थिए । संविधानका मुख्य विवादित बिषय शासकीय स्वरुप र संघियतामा सहमति जुटाउन विकल्पहरुमा छलफल चलिरहेको हुँदा त्यसलाई सार्वजनिक नगर्ने सहमति भएको थियो । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले कार्यव्यवस्था परामर्स समितिको बैठकमा दलहलाई सोमवार सम्म सहमति गर्न प्रस्ताव गरेपछि दलहरु सहमतिमा संविधान निर्माणका विषयमा छलफलमा जुटिरहेका छन् ।