५३ लाख रुपैयाँ बराबरको चाँदीसहित चार जना पक्राउ

249
  •  
  •  
  •  

धनुषा, १६ साउन (ओएनएस) : सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट धनुषाले शुक्रबार विहान ७४ के.जी. सात सय सत्तरी ग्राम चाँदीसहित चार जनालाई पक्राउ गरेको छ । उल्लेखित चाँदीको मूल्य करीब ५३ लाख रुपैयाँ रहेको छ ।

पक्राउ पर्नेहरुमा धनुषा रम्दैमा गाविस वडा नम्बर १ वस्ने ३० वर्षिय दीलकुमार साहा, जनकपुर नगरपालिका बडा नम्बर १६ कपिलेश्वर वस्ने २८ वर्षिय उमेश यादव तथा भारतको दरभङ्गा छतरीया वस्ने ३२ वर्षिय रोशनकुमार साहा र सोही ठाउँका ३६ वर्षिय प्रकाश गुप्ता छन् ।
यीनीहरु मध्ये रोशनकुमार साह र प्रकास गुप्तालाई सशस्त्र प्रहरी निरीक्षक हेमराज न्यौपानेको कमाण्डमा खटिएको एपीएफ टोलीले लगमा गाविस ९ स्थित सीमावर्ती इलाकाबाट पक्राउ गरेको हो । उनीहरुले अवैध रुपमा चाँदी चोरीनिकासी गरी भारततर्फ लैजान लागेको भन्ने जानकारी पाएपछि खटिएको एपीएफ टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।

एपीएफ टोलीले सोधपुछ गर्दा यीनीहरुले अन्य दुई जनाले नगराईन गाविस इलाकाबाट चोरी निकासी गरी भारततर्फ चाँदी लैजान लागेको बताएपछि तत्काल त्यस इलाकातर्फ समेत एपीएफ टोली परिचालन गरी दीलकुमार साहा र उमेश यादवलाई समेत पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जनालाई एपीएफ टोलीले शुक्रबारै आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैयामा बुझाएको छ । सानोसानो दाना आकारको चाँदीलाई प्लाष्टिकको प्याकेटमा हालेर त्यो प्याकेटलाई कम्बरदेखि कुमसम्मको कपडाको मालामा फिट गरेर बाहिरबाट सर्ट लगाएर चोरी निकासी गर्न लागेको अवस्थामा एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो । दुवै ठाउँमा गरी ३२ प्याकेट चाँदी एपीएफ टोलीले बरामद गरेको छ ।


  •  
  •  
  •