४ मधेसवादी दलले बनाए नयाँ मोर्चा

142
  •  
  •  
  •  

काठमाडौँ, ५ मंसिर(ओएनएस) : चार मधेस केन्द्रित दलका शीर्ष नेताहरूले ‘संघीय समावेशी गठबन्धन’ निर्माण गरेका छन् ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका शरत्‌सिंह भण्डारी, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका राजकिशोर यादव, नेपाल सद्भावना पार्टीका अनिल कुमार झा तथा तराई-मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले मिलेर आन्दोलनलाई थप सशक्त बनाउने भन्दै उक्त गठबन्धन निर्माण गरेको बताइएको छ ।

शनिबार जनकपुरमा भएको पत्रकार सम्मेलनमा गठबन्धनको घोषणा गरेपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान मधेस आन्दोलनलाई अझ प्रभावकारी, सशक्त, सहभागितामूलक र निर्णायक बनाउन हामी सँगै रहि, सहकार्य गर्दै संघीय समावेशी मधेस गठबन्धन निर्माण गर्न सहमत भएका हौं ।’

भण्डारीको तराई मधेस समाजवादी पार्टी र राजकिशोरको फोरम गणतान्त्रिक विजय कुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चामा थिए । तर, गच्छदार सरकारमा गएपछि यो मोर्चा निष्कृय भएको थियो ।

गठबन्धनले अन्य मोर्चासँग सहकार्य गरेर आन्दोलनलाई थप सशक्त बनाउनका लागि पहल गर्न वार्ता समितिको पनि चाँडै गठन गरिने जनाएको छ ।


  •  
  •  
  •