बढ्दो वन तस्करी नियन्त्रण गर्न विशेष कानुन : मन्त्री सापकोटा

114
  •  
  •  
  •  

भक्तपुर, २४ कात्तिक(ओएनएस) : वन तथा भूसंरक्षण मन्त्री अग्नी सापकोटाले बढ्दो वन तस्करीलाई नियन्त्रण गर्न सरकारले विशेष कानुन ल्याउन लागेको बताएका छन् ।

भक्तपुरमा आयोजित साक्षत्कार कार्यक्रममा उनले विगतमा वन तस्करी र फडानीमा संलग्न भएकालाई सुध्रन मौका दिने भएता पनि नसुध्रनेलाई नेपालको संविधान अनुसार कडा कारवाही गरिने बताएका छन् ।

धार्मिक आडमा वन अतिक्रमण गरेर बसेकालाई समेत कारवाहीको दायरामा ल्याउने भन्दै उनले भुकम्पको पीडामा परेका र इन्धनको अभाव झेलीरहेका नेपालीलाई काठ वितरणको प्रक्रिया अगाडि बढाएको बताए ।

सापकोटाले नेपालको संविधान जारी पश्चात भारतले गरेको अघोषित नाकाबन्दी अन्तराष्ट्रिय मान्यता विपरीत भएको र यो मानवीय संवेदनालाई ख्याल नगरी लगाएकाले समेत भारतको गलत कदमको सर्वत्र विरोध भइरहेको छ ।

मधेश आन्दोलनका जायज मागको सम्बोधन गर्न सरकार तत्पर रहेता पनि मधेश आन्दोलनका नेतृत्वको स्पष्ट माग नआउनु र देश टुक्राउने खालको अवस्थाकै कारण वार्ताले पूर्णता पाउन नसकेको उनको टिप्पणी थियो ।

भारतको नाकाबन्दीसँगै चीन तर्फको दुई नाकालाई तत्काल सुचारु गरेर नेपालीको चुलो बल्ने अवस्थाको श्रृजना गर्न सरकार लागिरहेको भन्दै सापकोटाले भारतले विगतमा पनि नाकाबन्दी लगाएको अनुभवलाई सरकारले सम्झेर काम गर्न नसक्दा नेपाली आत्मनिर्भर बन्न नसकेको बताए ।

सापकोटाले एमाओवादी छाडेर गएका केहीले आफुले पार्टी नछाडेको बताएको भन्दै उनले भने, ‘एमाओवादीमा प्रचण्डको एकल निर्णय नभएर केन्द्रिय समितिको निर्णय लागू हुन्छ ।’

काँग्रेसले विगतको राजनीतिक सहमतिलाई तोडेपनि राजनीतिक सहमतिलाई निरन्तरता दिएर अग्रसर बन्नु पर्नेमा एमाआवादीले जोड दिईरहेको र काँग्रेसलाई सरकारमा ल्याउन लागि परेको समेत उनको भनाई छ ।

नेपालमा कम्युनिष्ट एकताको सम्भावना रहेको र यसको प्रक्रियाका लागि नेपालका कम्युनिष्टहरु लागि परेको भन्दै उनले भने, ‘भविष्यमा नेपालका कम्युनिष्टहरु एकै ठाँउमा भएको हेर्न सकिनेछ ।’


  •  
  •  
  •