‘बैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाको शव ल्याउन ढिलाइ गर्नुको कारण देउ’

121
  •  
  •  
  •  

काठमाडौं, ५ कात्तिक (ओएनएस) : व्यवस्थापिका संसद अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न मुलुकमा अलपत्र अवस्थामा रहेका शव ल्याउन ढिलाइ गर्नुको कारण लिखित रुपमा पेश गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ ।

बुधबार श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ र श्रम तथा रोजगार सचिव भोला सिवाकोटीसँगको छलफल पछि रोजगारीको क्रममा साउदी अरब, कतारलगायतका खाडी मुलुकमा गएर ज्यान गुमाएका श्रमिकहरुको शव ल्याउन ढिलाइ गर्नुको कारण बारेमा सात दिनभित्र लिखित जवाफ दिन निर्देश्न दिएको हो ।
सरकारका अनुसार रोजगारीका लागि गएका श्रमिकहरुको ४४ वटा शव विभिन्न मुलुकमा अलपत्र अवस्थामा छन् । बैठकमा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले कानूनी जटिलताका कारण समयमा नै शव ल्याउन नसकिएको बताए ।

रोजगारीका लागि हाल कतार, साउदी अरब लगायतका मुलुकमा ३० लाख नेपाली कार्यरत छन् । ती मुलुकबाट हरेक दिन ४ जनाको शव नेपाल आउने गर्छ । समितिले खाडी मुलुकमा अलपत्र रहेका श्रमिकको शव ल्याउन यसअघि पनि श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको थियो ।


  •  
  •  
  •