काठमाडौं, २४ जेठ (एजेन्सी) : फिफा वरियतामा नेपाल ५ स्थान तल झरेको छ । विश्व फुटवलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको जुन महिनाको वरियतामा नेपाल १ सय ५९ औं स्थानबाट ५ स्थान तल झर्दै १ सय ६४ औ स्थानमा पुगेको छ ।
दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा माथि १ सय ३० औँ स्थानमा छ। अफगानिस्तान अघिल्लो महिनाको तुलनामा २ स्थान तल झरेको छ । दक्षिण एसियाकै माल्दिभ्स पहिलेको भन्दा ६ स्थान माथि उक्लिएको छ ।
उ १ सय ४७औ स्थानमा पुगेको छ। त्यस्तै भारत ७ स्थान तल झर्द १ सय ५४ तथा ५ स्थान तल झर्दै पाकिस्तान १ सय ६४औँ स्थानमा झरेको छ। नेपाल भन्दा पछाडि बंगलादेश १ सय ६७, श्रीलंका १ सय ७० र भुटान २सय ०७औ स्थानमा छन् ।
नयाँ वरियताक्रममा विश्व विजेता स्पेन पहिलो र जर्मनी दोस्रोमा छन् । अहिलेको विश्वकप आयोजक राष्ट्र ब्राजिल पोर्चुगललाई चौथोमा धकेल्दै तेस्रो स्थानमा उक्लिएको छ।
त्यस्तै विश्वकपमा दाबेदारको रुपमा हेरिएको अर्जेन्टिना दुई स्थान माथि उक्लदै पाँचौ स्थानमा पुगेको छ भने दुई स्थान फड्को मार्दै स्विटजरल्याण्ड छैटौं स्थानमा पुगेको छ ।