सामाजिक संजालमा विश्वकपको रन्को

104
  •  
  •  
  •  

काठमाडौ । सात समुन्द्र पारिको देश ब्राजिलमा आइतवार मध्यराती विश्वकप फूटबलको फाइनल भीडन्त हुँदैछ । आफूले मन पराएको टिमले खेल हारेको झोकमा सुनसरीमा एकजना युवतीले आत्महत्या गरेवाट नेपालीलाई विश्वकपको रन्को कति लागेको छ भन्ने कुरा पुष्टि हुन्छ ।

शहरका गल्ली गल्ली,  पार्क देखी रेष्टुराँ र चिया पसल सम्म विश्वकपको चर्चा चलिरहेको छ । अझ सामाजिक सञ्जाल फेसवुक र ट्वीटरमा यसको चर्चा हेरी साध्य छैन् । विश्वकपको फाइलनमा पुगेका अर्जेन्टिना र जर्मनीको पक्ष र विपक्षमा सामाजिक सञ्जाल छताछुलल भएका छन् ।

रमद आचार्य फेसबुकमा लेख्छन— ‘उपाधी उचाल्ने हातहरु अर्जेन्टिनाको होस् । जर्मनी आफ्नो हैसियत अनुसार दोस्रोमा चित्त बुझाओस् । २०१८ मा उपाधी उचाल्न ब्राजिलले खुटा र हातमा घिउ घसेर आओस् ।’

जर्मनीका समर्थक रमेश पोखरेलले फेसबुकमा लेखेका छन— ‘म राष्ट्रियता बिर्सिएर अर्जेन्टिनाको साथ दिन सक्दिन किनभने, अर्जेन्टिनामा अहिलेसम्म पनि कक्षा ८ सम्म संसारको सबैभन्दा ठूलो शत्रु नेपाल र नेपाली भनेर पढाई हुन्छ । किनकी फोकल्याण्डको युद्धमा नेपालले बेलायतको साथ दिएको थियो । हारेको अर्जेन्टिनाले नेपाली झण्डा जलाईएको थियो ।’

सुरुमा ब्राजिलको समर्थक रहेका राजन पाण्डेले कित्ता परिवर्तन गरेर जर्मनीको पक्षमा पुगेका छन, सामाजिक संजालमा उनले लेखेका छन— ‘अत्यन्त जरुरी सूचना !!!! नेपालमा पहेलो जर्सी लगाएर बसेका केही केटाकेटीमा अचानक ज्वरो आउने, बर्बराउने टिभी अगाडि बसेर हानहान मात्र भनिरहने, ७ अंकसँग डराउने फूटबल देख्यो कि अचानक झूलभित्र पसेर गोल भनिरहने । सबैका हितका लागि यो सूचना प्रकाशित गरिएको छ । ‘हल्का नीलो रंगको जर्सी लगाउ, माहामारी दुर भगाउ’

सेमि फाइनल सम्म धेरै नेपालीको समर्थन ब्राजिललाइ थियो । ब्राजिलले लज्जास्पद पराजय व्यहोरेपछि शिबहरिले लेखेका छन— ‘आफूले समर्थन गरेको टिमले नमिठो लोप्पा खुवाएपछि गुट परिबर्तन गरियो । अबको समर्थन जर्मनीलाई ।’

नेपालमा अर्जेन्टिनालाई समर्थन गर्ने नगर्ने बिषयमा समेत बहस भइरहेको छ । कतिपय व्यक्ति अर्जेन्टिनाको भन्दापनि मेसीका समर्थक देखिएका छन् । राजन रिमाल लेख्छन— ‘फाईनलमा कसैले पैसा जर्मनी तिर नराखोस मेरो अन्र्तमनले अर्जेन्टिनाले नै जित्छ भनिरहेको छ ।’

अर्जेन्टिनाका समर्थक पत्रकार कुसुम भटराईले लेखेका छन— ‘अर्जेन्टिना बिरुद्ध पुराना बासी कुरा उप्काएर अनेक भ्रम फैलाउनेहरु कता लुके । तिनिहरुलाई भेट्न पाए दबाबमूलक लोप्पा खुवाउन हुन्थ्यो ।’

विश्वकपलाइ नेपाली राजनीतिसंग तुलनागर्दै मिना खतिबडले लेखेकी छन — ‘विश्वकपले गर्दा भृकुटिमण्डपको ‘नेपाल भर्सेस ओली’ गेम छुट्ला है साथि हो ।’ जनक तिमील्सिना — ‘अब अर्जेन्टिनाले विश्वकप जित्नुपर्छ भनेर भन्नुस । मेसीका लागि भएपनि ।’

बरिष्ठ पत्रकार सुशील शर्माले फेसबुकमा लेखेका छन— ‘यदि यो खेल हिन्दी फिल्म जस्तो हुन्थ्यो भने नेमार यतिखेर बेडबाट स्लो मोसनमा उठेरमा मैदानतिर आउदैहुन्थे । त्यसपछि के हुन्छ कल्पना गनुर्से ।’

सरकारी कर्मचारी ऋषी अधिकारीले आफ्रनो भावना यसरी पोखेका छन— ‘जर्मनी—ब्राजिल …. खेल्छन्, जित्छन्, हार्छन, सहन्छन्, पर्खन्छन्, फर्कन्छन.. । उनीहरु बल गुडाउँछन् । हामी समर्थक बल जुधाउँछौ । उनीहरु गोल गर्छन, गोल खान्छन्, गला मिलाउछन् । हामी गाली गर्छौ, गाली खान्छौ …. धन्य नेपाली समर्थक ।’


  •  
  •  
  •