नवलपरासी, २५ भदौ : नवलपरासीको देउराली–३ गिरुबारीमा सञ्चालन भइरहेको ३०औँ युनाइटेड फुटबल कपको क्वाटर फाइनल खेलमा दुई समूहबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।
चोरमारा र प्रगतिनगरबीच भइरहेको खेलको क्रममा प्रगतिनगरका समर्थकले अश्लिल शब्द प्रयोग गरेको भन्दै चोरमाराका समर्थकले प्रगतिनगरका युवासँग सामान्य भनाभन गरेका थिए । सामान्य भनाभनमै चोरमाराका समर्थकले हातपात सुरु गरेपछि सो झडप भएको हो ।
झडपमा परी घाइते हुनेमा प्रगतिनगरका ३० वर्षीय सुन्दर श्रेष्ठ, सरोज परियार र अमृत सुस्लिङ मगर रहेका छन् । घाइतेमध्ये श्रेष्ठको अवस्था गम्भीर रहेको बताइएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । घाइतेको अहिले भरतपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
झडपले ठूलोरुप लिएपछि स्थितिलाई नियन्त्रण गर्न प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी निरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । घटनामा संलग्न ६ जना युवालाई नियन्त्रणमा लिई घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।