१० व्यवसायीक फर्म शिलबन्दी, ४२ विरुद्व मुद्दा

318
  •  
  •  
  •  

gunastar-bivag-finelकाठमाडौं, ३ मंसिर (ओएनएस) :  खाद्य तथा प्रविधि तथा गुण नियन्त्रण विभागले हालै १० ओटा व्यवसायीक फर्म शिलबन्दी गरेको छ ।

विभागले ४ महिनायता गरेको अनुगमनबाट कैफियत भेटिएका १० ओटा व्यवसायीक फर्म सिलबन्दी गरेको हो ।
त्यस्तै विभागले ४२ ओटा व्यवसायिक फर्मविरुद्व मुद्दा दायर गरेको छ । सो अवधिमा विभागले १ हजार ३ सय ६९ ओटा व्यवसायीक फर्म तथा उद्योगको अनुगमन गरेको थियो । अनुगमन गरेका अधिकांश व्यावसायिक फर्ममा कैफियत देखिएको विभागले जानकारी दिएको छ । ती उद्योगलाई खाद्य ऐन २०२३ अनुसार कारवाही हुने विभागका प्रवक्ता पूर्णचन्द्र ओस्तीले बताए ।

जसमध्ये अनुज्ञापत्र नलिनेलाई १ हजार,उपभोक्तालाई तत्कालै असर नगर्ने कैफियतमा ५ हजार र तत्कालै असर गर्ने कैफियत भएमा १० हजार जरिवाना र ३ बर्षसम्मको कैद हुने उनले जानकारी दिए । सबैभन्दा बढी कैफियत काठमाडौंमा देखिएको विभागले जानकारी दिएको छ ।

विभागले चितवन,काठमाडौं,ललितपुर,धादीङ,भक्तपुर,नवलपरासी,सिन्धुपाल्चोक लगायत स्थानमा अनुगमन गरेको हो ।

उपत्यकामा उत्पादन स्थल,गोदाम घर,होटल रेष्टुराँ,सरकारी कार्यालय,खुद्रा किराना पसल,डिपार्टमेन्टल स्टोर,चाडपर्व सहुलियत पसल गरी ३ सय १७ ओटामा अनुगमन गरेको थियो । जसमध्ये १७ ओटा विरुद्व मुद्दा दायर गरेको हो ।

काठमाडौंका हिमाल मिनरल,स्वस्तीक डेरी,ए वि वेभरेज,तिरुपती स्वीट्स,महाविर स्वीट्स एण्ड चाट हाउसलाई झुक्याएर तथा अत्याधिक फोहोर भएकोभन्दै शिलबन्धी गरेको हो ।

व्यवसायीले गल्ती सुधार नगरेसम्म शिलबन्धी गरिने बताइएको छ । आफुले गरेको गल्ती सुधार गरेको प्रतिबद्वतासहित विभागलाई जानकारी दिनुपर्छ । विभागको क्षेत्रीय कार्यालय विराटनगरले १ सय ४४ स्थानमा अनुगमन गरेको थियो । न्यून गुणस्तरको पानी विक्री गर्ने जल उद्योग र गंगा पेयजन्य उद्योगको सिलबन्दी गरेको छ । यस्तै हेटौडामा १४ ओटा उद्योग र कैलालीका २ ओटा उद्योगको शिलबन्धी गरेको जानकारी दिएको छ । विभागको कार्यलय नेपालगन्जले ४ महिनायता ३ सय ६२ ओटाको अनुगमन गरेको छ ।


  •  
  •  
  •