प्रधानमन्त्रिलाई पत्रकार महासंघको ध्यानाकर्षण

255
  •  
  •  
  •  

FNJकाठमाडौं, २६ कात्तिक (ओएनएस) : नेपाल पत्रकार महासंघले पत्रकारको पेशागत तथा भौतिक सुरक्षा, व्यावसायिक विकास एवं संविधान निर्माणको लागि चलाएको तीन महिने विशेष अभियानका क्रममा प्रधानमन्त्री सुशील कोइरालालाई भेटी ध्यानाकर्षण गराएको छ ।

महासंघ अध्यक्ष डा. महेन्द्र विष्टको नेतृत्वमा बुधबार गएको प्रतिनिधिमण्डलले पत्रकारिताको पेशागत मुद्दाको सन्दर्भमा प्रधानमन्त्रिलाई ध्यानाकर्षण पत्र बुझाएको हो । पत्रमा श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, दक्षता अभिवृद्धिको लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, बीमा सुविधा, द्वन्द्वपीडित पत्रकार कल्याण कोषको स्थापना लगायतका विषयको विस्तृत अवधारणा उल्लेख छ ।

महासंघले शान्ति प्रक्रियाको पूर्णता र परिवर्तनका एजेण्डालाई संस्थागत गर्ने प्रमुख दस्तावेज संविधान निर्माण कार्य तोकिएको समयसीमा आगामी माघ ८ गते भित्रै सम्पन्न गर्न पनि प्रधानमन्त्री र उनीमार्फत सरकार, संविधानसभा र राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ ।

पछिल्ला दिनमा दलहरुबीच बढ्दै गएको असहमति र धु्रवीकरणले दलहरु तोएिको मितिमा संविधान दिन फेरि पनि असफल हुने आशंका उत्पन्न भएको महासंघले जनाएको छ । महासंघले परिवर्तनलाई संस्थागत गर्न पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको लोकतान्त्रिक संविधान निर्माणमा ध्यान केन्द्रित गर्न आग्रह गरेको छ । महासंघ ‘नेपाली जनतासँग गरेको बाचा नतोडौं, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौं’ भन्ने मूल आह्वानसहित तीन महिने विशेष अभियानमा छ ।

महासंघको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले माघ ८ मै संविधान घोषणा हुनेमा आशंका नगर्न आग्रह गरेका थिए । त्यसका निम्ति सवै राजनीतिक दलहरु गम्भीर हुनुपर्ने भन्दै उहाँले आफूहरु सहमति, सहकार्य र एकताबाटै अघि बढ्न चाहेको र त्यसमा पत्रकार महासंघ लगायत समग्र प्रेस जगतको सकारात्मक भूमिकाको अपेक्षा गरेको बताए । प्रधानमन्त्री र महासंघबीच यस सन्दर्भमा चाँडै नै थप छलफल हुने पनि तय भएको छ ।


  •  
  •  
  •