पत्रकार महासङ्घको राष्ट्रिय भेला हेटौँडामा

245
  •  
  •  
  •  

काठमाडौ‌ । नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला आगामी भदौ २–३ गते वाग्मती प्रदेशको राजधानी हेटौँडामा आयोजना गरिने भएको छ ।

गत वैशाखका लागि तय गरिएको सो भेला रोकिएको र २६ औँ महाधिवेशनको मिति तय गर्न समेत कठिनाइ उत्पन्न भएकाले ती गतिविधिका बारेमा निर्णय लिन भेलाको नयाँ मिति तय गरिएको महासङ्घले जनाएको छ ।
महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आज सम्पन्न केन्द्रीय समितिको दसौँ पूर्ण बैठकले साङ्गठनिक विषय, श्रमजीवी पत्रकारको हकहितका पक्षमा भइरहेको आन्दोलनको समीक्षा र कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असरलगायतका विविध विषयमा छलफल गरेको थियो ।

महासचिव रमेश विष्टका अनुसार बैठकले बन्दाबन्दीका कारण २०७६ चैतभित्र सम्पन्न हुन नसकेको नयाँ सदस्यता सिफारिस र नवीकरणको म्याद २०७७ साउन मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ । यस्तै कोरोना माहामारीको कारण देखाउँदै सञ्चारगृहले श्रमजीवी पत्रकारलाई दवावपूर्ण बेतलबी बिदामा राख्ने, निष्कासन गर्ने, पारिश्रमिक कटौती गर्ने र काम गर्ने वातावरण बिथोल्ने गरेको सन्दर्भमा महासङ्घले श्रमजीवी पत्रकारको हकहितका लागि गरिरहेको आन्दोलनलाई अझ सशक्त र परिणाममुखी बनाउने निर्णय गरिएको छ ।

निरन्तर पाँच वर्ष एउटै सञ्चारमाध्यममा कार्यरत स्ट्रिन्गरलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चारगृहलाई पत्राचार गर्ने र तहगत वर्गीकरण गरी पारिश्रमिक तोक्ने भनी दुई वर्षअघि भएको निर्णय कार्यान्वयनका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ ।

हेर्नुहोस्

मिति : २०७७।०४।०९

श्री अध्यक्षज्यू
सबै
प्रदेश समिति÷जिल्ला शाखा÷प्रतिष्ठान शाखा÷एसोसिएट संस्था
नेपाल पत्रकार महासंघ

विषय ः बैठक निर्णय जानकारी तथा कार्यान्वयन सम्बन्धमा ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा २०७७ साउन ८ गते बसेको महासंघ केन्द्रीय समितिको दसौं पूर्ण बैठकले महासंघको सांगठनिक विषय, श्रमजीवी पत्रकारको हकहितका पक्षमा भइरहेको आन्दोलनको समीक्षा, कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असर लगायतका विविध विषयमा छलफल गरी देहायबमोजिमको निर्णय गरेको जानकारी गराउँदै सम्बन्धित निर्णयहरु कार्यान्वयन गर्न गराउन यो परिपत्र जारी गरिएको छ ।
१. कोरोना महामारीका कारण २०७७ वैशाखका लागि तय भएको महासंघको राष्ट्रिय भेला स्थगित भएको सन्दर्भमा महासंघको सांगठनिक गतिविधि प्रभावित भई २६औं महाधिवेशनको मिति तय गर्न समेत कठिनाई उत्पन्न भएकाले ती गतिविधिहरुका बारेमा निर्णय लिन आगामी भदौ २–३ गते बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरियो । उक्त भेलामा शाखा अध्यक्ष र प्रदेश अध्यक्षको सहभागिता रहने छ ।
२. लकडाउनका कारण २०७६ चैतभित्र सम्पन्न हुन नसकेको महासंघको नयाँ सदस्यता सिफारिश र सदस्यता नवीकरणको म्याद २०७७ साउन मसान्तसम्म थप्ने निर्णय भयो ।
३. कोरोना माहामारीको कारण देखाउँदै सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुलाई दबाबपूर्ण बेतलबी बिदामा राख्ने, निष्कासन गर्ने, पारिश्रमिक कटौती गर्ने र कामगर्ने वातावरण बिथोल्ने गरेको सन्दर्भमा महासंघले श्रमजीवी पत्रकारको हकहितका लागि गरिरहेको आन्दोलनलाई अझ सशक्त बनाई परिणाममूखी बनाउने निर्णय भयो । यस्तै निरन्तर पाँचवर्ष एउटै सञ्चारमाध्यममा कार्यरत स्ट्रिन्जरलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चारगृहहरुलाई पत्राचार गर्ने र तहगत वर्गीकरण गरी पारिश्रमिक तोक्ने भनिदुई वर्षअघि भएको निर्णय कार्यान्वयनका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गर्ने निर्णय पनिभएको छ ।
४. कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असरका सम्बन्धमा अध्ययन गरी दस्तावेज तयार पार्ने र त्यसका लागि महासंघको मिसन सबै प्रदेशहरुमा परिचालित हुने निर्णय गरिएको छ ।
५. महासंघले स्थापना गरेको एक करोड रुपैया बराबरको आपतकालिन कोषमा महासंघ केन्द्रकातर्फबाट रु. तीस लाख र महासंघ बेलायत शाखाबाट रु. बीस लाख जम्मा भइसकेकाले यस कोषमा स्वैच्छिक योगदान गर्न चाहने महासंघका शाखाहरु र सरोकारवालाहरुलाई साउन मसान्तभित्र सो कोषमा रकम जम्मा गर्न आह्वान गर्ने निर्णय गरियो ।
६. महासंघले लोककल्याणकारी विज्ञापन वापत बढाइएको रकम उपलब्ध गराउन, अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरणलाई सरलीकृत गर्न, स्वरोजगारमूलक सञ्चारमाध्यमलाई सहुलियतपूर्ण ऋणलगायतका आवश्यक राहत उपलब्ध गराउन र प्रेस पास वितरणलाई सरलीकृत गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय भएको छ ।
७. गतवर्ष भदौ ९ गतेदेखि बेपत्ता रहेका सामुदायिक रेडियो बुढीनन्दामा कार्यरत डोटीका पत्रकार तेजु खड्काको हालै कंकाल भेटिएकाले गहन छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल सरकारसँग माग गर्ने निर्णय बैठकले लिएको छ ।

रमेश विष्ट
महासचिव


  •  
  •  
  •