अदालतमा विचाराधिन रहेको मुद्दा उठाएर आफ्नो योग्यतामाथि प्रश्न नगर्न पाण्डेको आग्रह

61
  •  
  •  
  •  


pj pandayकाठमाडौं, २८ भदौ (ओएनएस) ः
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दा उठाएर आफ्नो योग्यतामाथि प्रश्न नगर्न आग्रह गरेका छन् ।

मुद्दाको बिषय अदालतमा रहेकाले बाहिर अरुले पद छोड भन्दैमा नछोड्ने बताए । ‘यसबारे भ्रम फैलाएर सिमित पत्रपत्रिका तथा महासंघका केही पदाधिकारीहरुले अनुशासन उल्लङघन गरेका छन्’ उनले भने ।

शनिबार काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पाण्डेले महासंघको प्रतिष्ठाका साथै अध्यक्ष तथा पदाधिकारीहरुको छविमा आँच आउने किसिमको समाचारप्रति बैठकले खेद व्यक्त गरेको बताए । अध्यक्ष पाण्डेले बैठकमा छिरेर मन नपरेको भन्दै निस्कनेलाई भगौडाको संज्ञा दिए ।

  वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका र उपाध्यक्ष शेखर गोल्छाको समूहले अवैधानिक अध्यक्ष भएको भन्दै शुक्रवार काभ्रेको धुलिखेलमा महासंघको चौथो कार्यकारिणी समितिको बैठक वहिष्कार गरेको थिए ।

महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले चित्त नबुझेका कुरा बाहिर प्रस्तुत गर्नु भन्दा बैठकमा राख्नु राम्रो हुने बताए । ‘आकाशतिर फर्किएर माथि थुक्दा थुक आफैतिर पर्छ भन्ने चेतना हुनुपर्छ’ विपक्षिलाई संकेत गर्दै उनले भने ।

महासंघको चौथो कार्यकारीणी समितिको बैठकले आगामी दिनमा महासंघको औपचारिक बैठकमा भाग लिन आउँदा औपचारिक रुपमा उपस्थिति जनाएपछि मात्र सहभागी हुने तथा बोल्न पाउने व्यवस्था मिलाएको छ ।
त्यस्तै महासंघको कामका लागि स्वदेश तथा विदेशमा हुने कुनै पनि कार्यक्रमहरुमा पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यले महासंघको कोषबाट पैसा खर्च गर्न नपाउने नियम बनाएको छ ।

नेपाल राष्ट्र बैंक तथा वित्तिय संस्थाका सञ्चालकहरुले अन्य बैंक तथा वित्तिय संस्थाबाट ऋण लिन नपाइने नीति अव्यवहारिक भएकोले त्यसलाई संशोधन गर्न समेत छलफल गरिएको थियो ।

बैठकले पूर्व अध्यक्ष चण्डिराज ढकाललाई विशिष्ट सदस्यमा मनोनयन गरेको छ । त्यस्तै कार्यकारिणी समितिको सदस्यमा अन्जन श्रेष्ठ र कृष्णप्रसाद शर्मालाई मनोनयन गरको अध्यक्ष पाण्डेले जानकारी दिए ।


  •  
  •  
  •